दल

देउवाको दूतका रूपमा आज दिल्‍ली जाँदै कांग्रेस नेताहरू

इकागज |
असोज २१, २०७८ बिहीबार ८:५८ बजे

काठमाडौँ - नेपाली कांग्रेसले भारतसँगको सम्बन्ध सुधारका लागि भारतीय सत्तारुढ दलसँग अन्तरक्रिया बढाउने भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका दोस्रो तहका नेताहरूलाई राजनीतिक दूतका रूपमा भारत पठाउँदै सुधारका प्रयास थालेका हुन् ।  उक्त टोली आज (बिहीबार) भारत जाने भएको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा जान लागेको टोलीले भारतीय जनता पार्टी (बीजेपी) का उच्चस्तरका नेताहरूसँग छलफल गर्नेछ । दुई मित्र मुलुकका दलहरूबीच हार्दिकता कायम राख्ने र एक-आपसमा अन्तरक्रिया बाक्लो बनाउने लक्ष्य अनुरुप भ्रमण हुन लागेको पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता डा. प्रकाशशरण महतले इकागजसँग बताए ।


‘हाम्रो र भारतीय राजनीतिक दलसँग थप निखारपन ल्याउन आवश्यक छ । यता र उताका नेतृत्व तहमा छलफल हुन आवश्यक छ । त्यसका लागि सबै राजनीतिक दलका नेताहरू एक-अर्कामा परिचित हुनुपर्छ,’ डा. महतले भने, ‘अब यसका लागि हामी चार दिन भारतमा रहँदा सबै तहका नेताहरूसँग औपचारिक रुपमा नै छलफल हुनेछ । सरकारको तहबाट नभई राजनीतिक दलको तहबाट छलफल हुनेछ ।’ 

बीजेपीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाईवालेको नेपाल भ्रमणपछि नेपालको तर्फबाट पनि भ्रमण हुन लागेको हो । उनको भ्रमण हुँदा नेपालका नेताहरू सबैसँग भेटी सम्बन्ध एक तहमा स्पष्ट पार्ने काम भएको भन्दै त्यसको निरन्तरतालाई नेपालको तर्फबाट नयाँ दिल्ली यात्रा हुन लागेको हो ।  

भारतीय सत्तारुढ दल बीजेपीको निमन्त्रणामा भारत जान लागेको जानकारी दिँदै डा. महतले भने, ‘अन्तरक्रिया आवश्यक छ । त्यसका लागि यस्ता भ्रमण लगातार हुनेछन् । भारतको एक दलसँग मात्र होइन अन्य दलसँग पनि दलगत सम्बन्ध विस्तार गर्दै जानेछौ । अन्य छिमेकी वा मित्र मुलुकसँग पनि यो आवश्यक छ ।’ पूर्व परराष्ट्रमन्त्री महतको टोलीमा पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, अर्का कांग्रेस नेता अजय चौरासिया छन् । 

चार दिने सद्भाव भ्रमणमा बिजेपीका माथिल्लो तहदेखि भारतीय विदेश मन्त्रीसम्मलाई भेटवार्ता गर्ने तयारी छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने इच्छा नेपाली टोलीको रहेको भए पनि त्यसबारेमा भने भारतीय पक्षबाट स्पष्ट जवाफ आएको छैन । डेढ महिनाअघि आएका चौथाईवालेले सबै नेतृत्व तहमा भेटवार्ता गरेका कारण त्यही तहको भेटवार्ता नेपाली पक्षले माग गरेको छ ।

यो पनि 

कहिले होला त देउवाको दिल्ली यात्रा ?


Author

थप समाचार
x