दल

प्रदेश १ सभा बैठक स्थगित गर्न एमाले र कांग्रेसको माग

बाबुराम भण्डारी |
कात्तिक ७, २०७८ आइतबार १२:१ बजे

फाइल तस्‍बिर

विराटनगर - प्रदेश १ सभाको बैठक स्थगित गर्न नेकपा एमाले र नेपाली कांग्रेसले माग गरेका छन् ।  दुवै दलले आजको प्रदेश सभा बैठक स्‍थगित गर्न सभामुख समक्ष माग गरेका हुन् । 

कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको हो । एमालेले कात्तिक ९ गते आफ्नो पालिका अधिवेशनलगायतको कारण देखाउदै बैठक स्थगित गर्न माग गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।


दुई दलले बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदिपकुमार भण्डारी त्यसबारे परामर्शमा रहेको जनाएको छ ।

आजै मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आज कार्यसूची छ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्‍मन्‍त्री आचार्यले विश्वासको मत माग्‍दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए। 

आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेर दल विभाजन भएपछि उनी मुख्यमन्त्री भएलगत्तै अल्पमतमा परेका थिए । प्रदेश सभाको वर्तमान राजनीतिक समीकरणअनुसार उनले विश्‍वासको मत नपाउने निश्‍चित छ । 

एमालेसँग सभामुखसहित ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्‍छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x