दल

उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरू माओवादीको विरोध गर्छन् : पुष्पकमल दाहाल

इकागज |
कात्तिक ७, २०७८ आइतबार १७:२६ बजे

काठमाडौँ - नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरूले माओवादीको विरोध गरेकाे बताएका छन् । 

काठमाडौंमा आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरूले माओवादी पार्टीको विरोध गरीरहेका बताएका हुन् । 


माओवादीले दलित, जनजाति, आदिबासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उहाँले दलित समुदाय आफुलाई अत्याचार गर्नेहरूको पछाडी लागेर हिड्दा भने आफूलाई नमिठो लाग्ने तर्क गरे । 

‘तपाईहरूले देख्नुभयो नि हिजोका सरकारका कतिपय ठुल्ठुला महान विद्धान कर्मचारीतन्त्रका ठुला भन्नेहरू चाहीँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै । को हुन् ति मान्छेहरू ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरी पुर्नस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के ?,' उनले भने, 'तर दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग समुदायपनि जानेर वा नजानेर आफुलाई नै अत्याचार गर्नेहरूको पछिपछि लागेर ताली पिट्दै हिडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमिठो लाग्छ । के भएको होला भन्ने महशुस हुन्छ ।’

पूर्व अर्थसचिव खनालले केही दिनअघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त’ भनि ट्वीट गरेका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातिय विभेद हटाउन अन्र्तजातिय विवाह गर्ने क्रम सुरु भएको भएपनि अझै जातिय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे । उनले रोल्पा, रुकुममा अन्‍तरजातीय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको उल्लेख गरे । 

 ‘अहिले बिस्तारै फेरी उपल्लो जात र तल्लो जात, अझ मलाई सबभन्दा बढी पीडा हुने त रोल्पा, रुकुमजस्ता ठाउँहरू जहाँ सबभन्दा बढी दलितहरूलाई उन्मुक्ति दिनका लागि धेरै नेता कार्यकर्ताहरू जन्मिए, धेरै त्यसखालका बिद्रोहका किर्तिमानहरू कायम भए । अन्तरजातिय विवाहहरू भए त्यहीँ अहिले दलित केटासँग प्रेम गरेको विषयलाई लिएर दलित युवा र अन्य युवाहरू मारिए त्यही ठाउँमा । मेरो लागि यो निकै ठुलो पीडाको विषय भएको छ । प्रतिक्रान्ति भनेको त यसरी पो हेर्दाहेर्दै हुँदोरहेछ । भयो' उनले भने । उनले कतिपयले जातिय विभेदको अन्त्य गर्न भनि भएको बिद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताए । 


Author

थप समाचार
x