दल

नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारतले सम्मान गर्नैपर्छ: पुष्पकमल दाहाल

इकागज |
कात्तिक ८, २०७८ सोमबार १८:१ बजे

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । 

सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् । 


उनले भारतीय प्रधानमन्त्रीले संविधानसभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरुले ताली बजाएको कुरालाई स्मरण गर्दै उनले नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा ताली बजाउनेहरुलाई ताली बजाइरहने बनाउन पनि आग्रह गरे । 

नेपाल भारत सीमा समस्या रहेको उल्लेख गर्दै उनले सीमा समस्यालाई सम्वादको माध्यमबाट समाधान गर्न सकिने तर्क गरे । उनले भने, ‘मोदिजीले जसरी आएर संविधानसभामा बोल्नुभयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरी ताली । यसो हेर्दा त ताली लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि । उहिले नि थियो । अहिले नि छ भोलि नि हुन्छ । तर हामीले ताली लगाइयो त्यहाँ । बडो उत्तेजित भइयो खुशी भइयो । यो कुराको हिसाबचाहीँ अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ मलाई । भारतीय नेतृत्वले, भारतीय बुद्धिजिवीहरुले नेपालीहरु बुद्ध नेपालमा जन्मेका हुन् भन्दा खुशी हुन्छन् । जन्मिएकै हुन् नि त्यत्रो ठुलो उत्पात त हुनुपर्ने कुरो होइन । तर नेपालमै जन्मिएका हुन् भन्दामात्रै बल्ल खुशी भइन्छ ।' 

उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देश बिचको सम्बन्ध सुदृढ हुने उल्लेख गरे । 

उनले भने, ‘यदि नेपालको नेशनल इन्ट्रेष्टमा भारतले बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ । नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेशनल इन्ट्रेष्टलाई बाधा पुर्‍याएको छैन बरु त्यो सँग सहयोगी हुन मद्दत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ । एक अर्काको नेशनल इन्ट्रेष्ट सर्भ गर्‍यो, एक अर्कालाई मद्दत गर्‍यो भने त्यहीँनिर सम्बन्धहरु सुदृढ भएर जान्छन् । नेपालको नेशनल इन्ट्रेष्ट र भारतको नेशनल इन्ट्रेष्टलाई एक अर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको सुरुवात गरियो भने दुनियाँको कुनैपनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन । हामी सबै त्यतैतिर लागौँ ।’

उनले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि बताए । भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनको भनाइ छ । 

उनले भने, ‘एउटा के कुरा सत्य हो भने सबैको सहयोग नभइकन त यो शान्ति सम्झौता भएको होइन । हुनत कतिपय शक्तिकेन्द्रहरु यो शान्ति सम्झौता हुनै नपाओस् भनेर अन्तिम समयसम्म पनि बल गरेको पनि हामीलाई थाहा छ । तरपनि नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडी आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रैपनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु । त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो । हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्याे, भयो । त्यसकारण हामी अहिले यहाँ छौँ ।’

अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको पनि उल्लेख गरे । माओवादी जनयुद्धलाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारे । 


Author

थप समाचार
x