दल

प्रदीप ज्ञवालीको प्रश्‍न : प्रधानन्यायाधीशलाई दोष दिएर अरु चाहिँ चोखै हुने ?

सन्तोष अधिकारी |
कात्तिक ९, २०७८ मंगलबार १३:२४ बजे

काठमाडौँ - नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले न्यायालयभित्र चरम अराजकता मौलाएको बताएका छन् । पछिल्लो घटनामा असार २८ गतेको फैसलापछि न्यायालयभित्र अराजकता देखिएको उनको भनाइ छ । ‘न्यायालयभित्र चरम अराजकता देखियो यो अत्यन्त दुखद् कुरा हो । हामी चिन्तित छौँ,’ इकागजसँग कुरा गर्दै ज्ञवालीले भने, ‘ न्यायालय विवादित हुनु भनेको राज्यको महत्वपूर्ण अंग विवादित हुनु हो ।’ 

असार २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्री बनाउने आदेश जारी गर्दै सँगै सर्वाेच्चले परमादेश जारी गरेको थियो । यो परमादेश जारी गर्दा राजनीतिक दलका नेतृत्व र न्यायालयका केही व्यक्ति मिलेर संविधानको लिक भत्काउने काम गरेको ज्ञवालीको आरोप छ ।  


‘यो समस्या अहिले एक्कासी आएको होइन । यसको विवादको स्रोत खोज्ने हो भने असार २८ मा पुग्नुपर्ने हुन्छ । यो सबै त्यो फैसलापछि उत्पन्न परिणाम हुन्,’ उनले भने, ‘त्यो फैसला गराउनुको लागि केही राजनीतिक दलले, राजनीतिक नेतृत्वको दबाब र प्रभावमा न्यायालयका केही न्यायाधीशले राजनीतिक स्वार्थको निम्ति संविधानको लिक भत्काउने काम गर्नु भयो ।’ 

केही राजनीतिक दलका नेतृत्व र न्यायालयभित्रका केही व्यक्तिबीच अपवित्र गठबन्धनले अहिलेको अवस्था आएको उनको भनाइ छ । उनले अहिले प्रधानन्यायाधीश एक्लैलाई हटाउँदैमा समस्या समाधान नहुने पनि बताए । ‘आज समाधान कहाँ खोजिँदैछ भने सबै समस्याको स्रोत, सबै समस्याको कारण चाहिँ प्रधानन्यायाधीश हो भन्ने जस्तो गरेर भइरहेको छ,’ उनले भने, ‘त्यो फैसला गर्न लगाउने, त्यो गठबन्धन गर्ने, साँठगाँठमा संलग्न हुने राजनीतिक नेतृत्व पनि चोखै, त्यो प्रक्रियामा जोडिएका न्यायाधीशहरू पनि चोखै, दोषजति एक प्रधानन्यायाधीशको थाप्लोमा ?’ 

असार २८ को फैसलमा राजनीतिक दलका नेतृत्व र न्यायालयबीच ‘सेटिङ’ भएको प्रष्ट देखिएको पनि ज्ञवाली बताउँछन् । ‘फैसलामा सेटिङ भएको प्रष्टै देखियो । दलहरूको हितमा त्यही ढंगको फैसला गर्ने भनेर इजलास बनाएको, त्यसो गरेबापत कसैलाई पदकबाट, कसैलाई मन्त्री पदबाट पुरस्कृत गर्ने काम सरकारले गर्‍यो,’ उनले थपे, ‘त्यसैले यो अपवित्र गठबन्धनको लागि यी सबै दोषी छन् । यहाँ सेटिङअनुसार काम गर्न लगाउने राजनीतिक क्षेत्र पानीमाथिको ओभानो, यो प्रक्रियामा जोडिएका न्यायाधीश पनि पानीमाथिको ओभाने, दोषारोपाण प्रधानन्यायाधीशलाई मात्रै ? यो सही भएन ।’

न्यायालय विवादित बनाउने राजनीतिक नेतृत्वले यसको जिम्मा लिनुपर्ने र न्यायाधीशहरूले जवाफ दिनुपर्ने ज्ञवालीको भनाइ छ । ज्ञवालीले अहिले चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशबाट हटाएर अर्काे कसैलाई उनको ठाउँमा ल्याउने खेलमा एमाले नलाग्ने उनले दाबी गरे ।

‘चोलेन्द्र शमशेरलाई प्रधानन्यायाधीशबाट हटाएर अर्काे कसैलाई प्रधानन्यायाधीश बनाउने खेलमा नेकपा एमालेको रुचि पनि छैन, एमाले यस्तो गन्जागोलमा जोडिन पनि चाहँदैन’ उनले भने, '  कुनै व्यक्तिको स्वार्थ पुरा होलान्, तर, अहिले भइरहेको न्यायलयको विकृति हट्छ त ? न्याय विक्रि भएको त हामीले देख्दै आयौँ नि ।'  


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x