दल

'गठबन्धनमा कुनै विवाद छैन'

न्यायालयको बेथितिबारे गठबन्धनले चाँडै साझा निर्णय गर्छ: दाहाल

सुभाष कर्ण |
कात्तिक १३, २०७८ शनिबार १२:५८ बजे

जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा देखिएको बेथितिबारे गठबन्धनले छिट्टै साझा निर्णय गर्ने बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले न्यायालयका सम्बन्धमा धारणा सार्वजनिक गर्न ढिला भएको स्वीकार गर्दै गठबन्धनका नेताहरू काठमाडौबाहिर भएकोले बैठक बस्न ढिला भएको बताए । तर उनीहरू आएपछि एक/दुई दिनभित्रै बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने उनले बताए ।

गठबन्धनभित्र देखिएका समस्याबारे पत्रकारहरूको जिज्ञासामा उनले भने, 'गठबन्धनभित्र कुनै समस्या वा राजनीतिक विवाद छैन ।  सबै दलले आ-आफ्नो अस्तित्व खोजेका हुन सक्छन् । तर, विवाद छैन । आगामी राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले संगै लड्ने उनले बताए । 


वर्तमान सत्‍ता गठबन्धन आगमी निर्वाचनसम्म टिक्ने दाबीसमेत उनले गरे । अध्यक्ष दाहाले प्रतिपक्षी दलले संविधानको मर्म/भावनाविपरीत अनावश्यक संसद् अवरुद्ध गर्दै आएको टिप्पणी गरे । प्रतिपक्षीको अवरुद्धका बावजूद गठबन्धनले संसद्‍को गतिरोध अन्त्य गर्ने प्रयास गरिरहेको बताए ।

संसद् सुरु हुनेवित्तिकै अध्यादेशबाट भए पनि नागरिकता र रेल संचालनसम्बन्धी विधेयक अगाडि बढाइने उनको भनाइ छ । विधेयक ल्याउन नसकिए अध्यादेशमार्फत नै भए पनि नागरिकका समस्या समाधान र रेल संचालन प्रक्रिया अघि बढाउने उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x