दल

नेपालको प्रश्‍न- रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनुपर्ने, किन महँगो ?

इकागज |
मंसिर ५, २०७८ आइतबार १३:१४ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् । आइतबार विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन-पत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खालि रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए ।


‘समस्याको कारण पनि खोज्नु पर्‍यो, समाधान पनि निकाल्नु पर्‍यो । यसनिम्‍ति सरकार गम्भीर बन्नुपर्‍यो,' उनले भने, 'सरकार गम्भीर बन्न सकेको छैन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्‍यो। यो हाम्रो दायित्व भित्र पनि पर्दछ । एउटा समस्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको छ । मन्त्री भइदियो भने हुन्छ । प्रधानमन्त्री आफैँले सबै कुराहरूलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन् । त्यसको निम्ति हामीले भनिरहेका छौँ, अरु कोही नपाइए हामी छँदै छौँ नि मन्त्री दिने भनिरहेका छौँ । सुन्दैनन् ।'

अध्यक्ष नेपालले खाना पकाउने ग्याँसमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताए । अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महँगो भइरहेकोमा अचम्म लागेको बताए । उनले बाटोमा हुने चोरी र नोक्‍सानीबारे हिसावकिताव हुनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताए ।

‘रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनु पर्ने हो, मैले पनि बुझिरहेको छैन, किन महंगो भइरहेको छ ? हिजो कति खर्च हुने गर्दथ्यो ?' उनले भने, 'सरकारलाई भन्ने छौँ । सरकारले पनि बरु करको दायरा घटाउनु पर्‍यो । जतासँग प्रत्यक्ष जोडिएका कुराहरूमा मारमा पार्नुभएन । ग्याँसमा १२ दिनको अन्तरालमा १२५ रुपैयाँ बढाउनु जनतामाथि अत्याचार भएको छ । म प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउनेछु ।’ 


Author

थप समाचार
x