दल

गुट अलग भएको छ, म मूल नेतृत्वमै छु :  बादल

इकागज |
पुस ९, २०७७ बिहीबार १५:३३ बजे

काठमाडौँः नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् । मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्व (केपी शर्मा ओली) लाई साथ दिनुपरेको बताउँदै आफू अर्काे गुटमा प्रवेश नगरेको बताए ।

‘दुई दल (एमाले र माओवादी केन्द्र) एकीकृत हुन आवश्यक थियो । त्यो जनताको चाहना थियो । पूरा पनि गर्‍यौं,’ उनले भने, ‘मुलुक बनाउने आभिभारा हामीमा थियो । कामहरू भइरहेका थिए । असाधारण उपलब्धि समेत हासिल गरेर हामी यहाँ आइपुगेका थियौं तर एउटा गुटलाई मन परेन । जसका कारण असाधारण परिस्थितीमा हामी छौँ ।’ 


प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली खेमाको नेकपा बैठकमा बोल्दै थापाले निकै सोचविचार गरेर मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताए । उनले पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताए । अब उनीहरू फेरि निर्वाचनमा भाग लिन सँगै आउने दावी पनि थापाको छ ।

जनचाहनाको विरुध्दमा पार्टीका गुट बाहिरिएकाले उनीहरुलाई एकवध्द बनाउने अभिभारा हामीसँग रहेको उनले बताए । 'कम्युनिष्ट फुटाउन खोज्‍नेहरू सफल देखिएका छन् त्यसैले यसमा गुटतिर लागेर जानेहरुले बुझेर निर्णय लिनुहुने र सँगै अघि बढ्ने अवस्था आउने,' उनले भने ।

दुई स्थानमा बैठक चलिरहेको छ । 'आज बालुवाटारमा मूल नेकपाको बैठक छ भने गुटको बैठक कार्की पार्टी प्यालेसतिर भइरहेको छ,' उनले भने, ‘पार्टीको नेतृत्वलाई जोगाउन आफू लाग्‍ने र गुटहरूलाई हावी हुन दिने छैन । असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको नेतृत्वलाई सघाउन म सबैलाई आह्वान गर्छु ।’ 

पार्टीको विवादमा कतै नखुलेका र पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी नभएका थापा विहिबार ओलीको पक्षमा देखापरेका हुन् । बैठकमा थापाको बाेल्नु अघि नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओलीले शपथग्रहण गराएका थिए ।


Author

थप समाचार
x