दल

ओलीको सवा एक घन्टा:

नेपालको आलोचना, दाहाललाई चुनौती !

अनिष भट्टराई |
मंसिर ७, २०७८ मगलवार १७:२९ बजे

फाइल फोटो

काठमाडौँ - बुद्धनगरको अल्फा हाउसमा मंगलबार दिउँसो २ बजे पुग्दा सभाहलमा नेकपा एमालेका नेताहरू आसन लिएर बसिसकेका थिए । सूर्य थापा, योगेश भट्टराई, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, विष्णु रिमाल अगाडि राखिएका कुर्सीमा बसिसकेका थिए । बीचमा एउटा कुर्सी खाली थियो, जुन अरू नेताहरू आसीन कुर्सीभन्दा फरक थियो । रातो–ठूलो कुर्सी अध्यक्ष केपी ओलीका लागि छुट्टयाइएको थियो र उनकै प्रतीक्षामा थिए एमाले नेताहरू । 

एमाले अध्यक्ष ओलीले सम्पादकहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम थियो । विभिन्न सञ्चारमाध्यमका सम्पादक, रिपोर्टरहरू उनकै प्रतीक्षामा थिए । ओलीले मंगलबारको अन्तक्र्रियामा सवा एक घन्टा बिताए । आसन्न दशौं महाधिवेशन सम्मुखमा रहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तक्र्रिया गरेका हुन् । 


अन्तक्र्रियामा ओलीको प्रस्तुति आत्मविश्वासले भरिएको, सबै नेतालाई रिझाउने खालको थियो । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आलोचना र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिए । 

ओलीले आफ्नो सम्बोधनको सुरुआतमै नेपालका बसहरूले बोक्न सक्ने जति मानिस चितवनमा ल्याइने दाबी गरे । सार्वजनिक सवारीमा अटाउने जति मानिस चितवनमा सम्मिलित हुने उनको आत्मविश्वास थियो । ‘नेपालमा चल्ने साना–ठूला सवारीसाधनले बोक्न सक्ने जति मानिस ल्याइन्छ । टाढाबाट पैदलै आउन नमिल्ने भएकाले बसमा अट्ने जति ल्याउँछौं,’ ओलीले भने । 

ओलीले महाधिवेशनसम्बन्धी केही भनाइ राखेपछि ‘फ्लोर ओपन’ भयो । ओलीले सम्पादकहरूलाई प्रश्न सोध्न समय दिए । उनलाई पहिलो प्रश्न सोधियो, ‘महाधिवेशन नेतृत्व छान्ने महाधिवेशन हो । तर अध्यक्षमा तपाईं निर्विरोध नै हुन सक्नुभएको छैन । तपाईंलाई सानो चुनौती छ । उद्योग वाणिज्य संघमा झैं एउटा अध्यक्षमा निश्चितजस्तै हुन्छ अनि ध्यान वरिष्ठ उपाध्यक्षमा जान्छ । अब एमालेमा वरिष्ठ उपाध्यक्ष को हो ? तपाईंले मनले खाएको वरिष्ठ उपाध्यक्ष को हो ? महासचिव र अरू पदमा तपाईंले प्रतिस्पर्धाका लागि छाडिदिएको भन्ने छ । यसमा राय के हो ? प्यानल नबनाउने भने पनि प्यानल बन्नेतिर गएको छ नि ?’

ओलीले उत्तर निकै शालीन भएर दिए । प्रायः आफ्ना विरोधीलाई ‘भित्तामा पुग्ने गरी दिने’ ओली आजको कार्यक्रममा भने निकै ‘बोली तौलिएर’ बोले । उनले भीम रावलको उम्मेदवारीलाई चुनौती नभई माया र सद्भावका रूपमा लिएको बताए । रावलको उम्मेदवारीमा आफूलाई जोडिएर ‘मिसइन्टरप्रिटेसन’ भएको बताए । ‘रावलजीले आदर, सम्मान, स्नेह देखाउनु भएको छ । बढी खट्नुभयो म उठ्छु भन्नुभएको छ, कुनै चुनौती भन्नुभएको छैन,’ ओलीको उत्तर थियो । रावलको उम्मेदवारी चुनौतीभन्दा पनि आफ्ना लागि सुझाव भएको टिप्पणी गरे । सो सुझाव पार्टीबाहिरका केही नेताले पनि दिइरहेको बताए । 

पदाधिकारीको विषयमा पनि उनको जवाफ ‘मध्यमार्गी’ थियो । अहिले कसैलाई पनि आफूले पक्ष÷विपक्ष नभनेको र लोकतान्त्रिक अभ्यासअनुसार निर्विरोध÷निर्वाचित हुने व्यक्तिलाई आफूले माया गर्ने र मन पराउने जवाफ ओलीले दिए । आफूले कसैको उम्मेदवारीमा भाँजो नहाल्ने, सबै नेता आफ्ना लागि निकट भएको जवाफ दिएर उनी सबैको सर्वमान्य नेता हुन चाहेको सन्देश दिए । 

यसपछि ओलीलाई १,२,३ का संख्यामा चितवन महाधिवेशनले दिने सन्देश, माधव नेपाललाई महाधिवेशनमा निमन्त्रणा नगरिनुको कारण, प्रचण्डको गृहजिल्लामा महाधिवेशन गरिनुको कारण र चुनावपछि एमालेले बहुमत ल्याउने आधार सोधियो । ओलीले यस प्रश्नको ठट्यौली उत्तर दिए । ‘म १,२,३ होइन ५–७ वटै जवाफ दिन चाहन्छु । जनता जान्न चाहन्छन्– १,२,३ नै किन ?’ प्रश्न सकिएलगत्तै ओलीले भने । 

माधव नेपाल लगायतले पार्टी फुटाएपछि एक्लै, एकतालमा हिँड्ने मौका मिलेको र पार्टीको शुद्धीकरणको मौका मिलेको ओलीको भनाइ थियो । उनीहरू छुट्टिनाले पार्टीमा ‘ल्याङल्याङ’ अन्त्य भएको विश्लेषण सुनाए । ‘हामीले निर्वाचित गराएका केही मानिस बिग्रिए । अरूतिर के भो कुिन्न, नेकपा एमालेमा ल्याङल्याङ अन्त्य भो,’ ओलीको जवाफ थियो ।  

ओलीले जवाफकै क्रममा माधव नेपालको एकीकृत समाजवादीलाई एमालेले पार्टी नै नमानेको दोहो¥याए । नेकपा एसलाई एमालेबाट निष्कासितहरूको गुटको संज्ञा दिए । माधव नेपालको ‘गुट’लाई पार्टी नै नमानेकाले महाधिवेशनमा नबोलाइएको जवाफ ओलीले दिए । 

माओवादी अध्यक्ष प्रचण्डले ‘आफूलाई सिध्याउन चितवनमा महाधिवेशन’ गरिएको सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । उनको यस्तो अभिव्यक्ति यदि आफू लक्षित भएको भए, दमक गएर माओवादीको महाधिवेशन गर्न ओलीले प्रचण्डलाई चुनौती दिए । ‘रोल्पा, सिरहा, काठमाडौँ, चितवनमा प्रचण्डजी लड्नु भो । हामीले त आफ्नो पार्टीको महाधिवेशन गरेका हौं । आउनुहोस् झापामा महाधिवेशन गर्नुहोस् । उहाँ चुनाव लडेकोे ठाउँ भन्दैमा जिल्ला उहाँकै त हुँदैन,’ ओलीले भने, ‘यदि उहाँलाई सिध्याउन नै हामीले चितवन रोजेको जस्तो लाग्छ भने आउनुहोस् तपाईं दमकमा महाधिवेशन गर्नुहोस् ।’ अब एमालेमा कुनै पक्ष र प्रवृत्ति नरहने भन्दै ओलीले सबैको नेता बन्न चाहेको सन्देश दिए । थरीथरी प्रवृत्ति नबनाई अब सबै एमालेमै अन्तरघुलित हुने ओलीको विश्वास छ । 

अन्तिममा ओलीलाई न्यायालयमा देखिएको दृश्यबारे प्रश्न सोधियो । एमालेले न्यायालय स्वतन्त्र, निष्पक्ष होस् भन्ने चाहेको ओलीको जवाफ थियो । आफ्नो सरकार सेटिङका आधारमा संसद्लाई थाहा नै नदिई अपदस्थ गरिएको तर न्यायालयको निर्णय भएकाले आफूले स्वीकार्न बाध्य बनेको ओलीले बताए । ‘अहिले त सरकार हटाइएको नै प्रतिनिधिसभाले थाहा पाएन । परमादेशले नयाँ प्रम नियुक्त भएको पनि संसद्ले थाहा पाएन । विश्वासको मत माग्न बोलाइयो तर किन बोलाइयो ?,’ ओलीले भने, ‘जबकि यति बजेसम्ममा प्रधानमन्त्री नियुक्त गर भन्नू विचित्रको कुरा हो । त्यो कुरा न्यायोचित नभए पनि अदालतको गरिमाका लागि मान्यौँ ।’ 

सरकार अपदस्थ गराइएको असन्तुष्टि पोखेपछि ओलीले न्यायालय शुद्धीकरणका लागि प्रधानन्याधीशले मात्र राजीनामा दिएर नपुग्ने बताए । ‘सर्पको खुट्टा सर्पले देख्छ भनेझैं न्यायाधीशहरूले देख्नुभएको छ । अमुक व्यक्ति हटेपछि यो सिलसिला हट्दैन । म त सबै न्यायाधीशले राजीनामा दिनुपर्ने देख्छु,’ ओलीले भने । क्यान्सरको उपचार कुखुराको अन्डा मन्साएर नभई किमो, अप्रेसन गर्नुपर्ने भन्दै न्यायपालिकाको शुद्धीकरणका लागि ठूलो अप्रेसनको खाँचो भएको ओलीको जवाफ थियो ।


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x