दल

टिप्पणी

ओलीको हुकुमी शैली र देउवाको लोकतान्त्रिक अभ्यास

अनिल अधिकारी |
मंसिर ९, २०७८ ५:४४ बजे

देशका प्रमुख पार्टीहरु यतिबेला महाधिवेशनको संघारमा छन् । सरकारको बागडोर सम्हालेको नेपाली कांग्रेस र भर्खरै सत्ताबाट विपक्षीको बेन्चमा पुगेको नेकपा एमाले पार्टी महाधिवेशनको अन्तिम चरणमा छन् । नेपालको राजनीतिमा लामो यात्रा तय गरिसकेका यी दुवै दलले गर्न लागेको महाधिवेशन र महाधिवेशनबाट आउने नयाँ नेतृत्वले नेपालको राजनीति अब कता जान्छ भन्ने निर्धारण हुनेछ । 

संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर विधान अनुसार पार्टीलाई सञ्चालन, आन्तरिक लोकतन्त्र र नेतृत्व विकासका लागि दलहरूले हरेक पाँच वर्षमा पार्टीका सबै संरचनाको अधिवेशन गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया भनेको पूर्णत लोकतान्त्रिक प्रकृया हुनुपर्दछ । कम्युनिष्ट पार्टी भनिएपनि नेकपा एमाले दलभित्र पूर्णतः आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने राजनीतिक दलका रूपमा देखिन्छ । 


पहिले–पहिले भन्ने गरिन्थ्यो– नेपाली कांग्रेस भन्दा नेकपा एमाले लोकतान्त्रिक छ । यस कारण यसलाई बढी लोकतान्त्रिक भन्थ्यिो कि एमालले संविधानको व्यवस्था र पार्टीको विधानलाई टेकेर अधिवेशन  तथा महाधिवेशन गर्दथ्यो । तर अहिले नेकपा एमाले पूर्णतः एकतन्त्रीय कम्युनिष्ट शैलीमा वा अर्को शब्दमा भन्नुपर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हुकुमप्रमांगीका आधारमा महाधिवेशनमार्फत् नेतृत्व चयन गर्दैछ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको र चाहेका पदाधिकारी र केन्द्रिय समिति मात्रै होईन देशैभरी अधिकांश ठाउँमा उनको चाहनामा महाधिवेशन प्रतिनिधिहरू चयन भएका छन् । यी दुवै दलहरुले नयाँ केन्द्रीय कार्यसमिति छान्नका लागि महाधिवेशन गर्न लागेका हुन् । यसरी हेर्दा अबको नयाँ नेतृत्वमा को अध्यक्ष बन्छ भन्ने यकिन गर्न मुस्किल हुनुपर्ने हो तर एमालेको हकमा यो सहजै भन्न सकिन्छ केपी ओली नै १०औं महाधिवेशनपछि पनि एमालेका अध्यक्ष हुन् । अध्यक्षमा उम्मेदवारी दिने आँट मात्रै गरेका भीम रावलले पार्टी कार्यालयमा उम्मेदवारी घोषणा समेत गर्न नपाएपछि रिपोर्टर्स क्लबमा पुगेर उम्मेदवारी घोषणा गरे । 

अर्कोतर्फ, नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्व दायी भूमिका निवार्ह गरेको बीपी कोइरालाको विचारबाट निर्देशित, आफूलाई लोकतान्त्रको पर्यावाची भन्ने नेपाली कांग्रेस पनि नेतृत्व चयन गर्ने प्रकृयामा छ । वडा, गाउँ, नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन भइसकेका छन् भने जिल्ला तथा प्रदेश अधिवेशनहरू र महाधिवेशन हुने क्रममा छ । नेपाली कांग्रेसका अधिकांश संरचनामा नयाँ नेतृत्व चयन भईसकेको छ । स्थानीय तहदेखि नै पार्टीको अधिवेशन हुनु र नयाँ नेतृत्व आउनु भनेको पार्टी गाउँ तहदेखि नै संस्थागत र जीवन्त भयो भन्ने प्रमाणित हुनु हो । 

कांग्रेसले नेपालको राजनीतिक इतिहासमा आफूलाई धेरै पटक लोकतन्त्रको पहरेदार हुँ भनेर प्रमाणित गरिसकेको छ । यसर्थ पार्टीभित्र पनि यो प्रमाणित हुनु जरुरी हुन्छ । भलै पार्टीभित्र चुनावी प्रकृयामा जाँदा गुटहरू हावी भएको हुन सक्छन्, तर चुनावी प्रकृयालाई अवलम्वन गर्नु लोकतान्त्रिक चरित्र ठहरिन्छ । अधिकांश संरचनामा सम्पन्न भईरहेको नेतृत्व चयन हेर्दा नेपालको लोकतान्त्रिक पार्टी हाँक्ने केन्द्रीय सभापति को हुन्छ आज यसै भन्न सकिने अवस्था छैन् । सायद यसलाई नै पूर्णलोकतान्त्रिक प्रकृया भनिन्छ होला । वडातहदेखि चयन भएका क्षेत्रीय प्रतिनिधिले नै गाउँ, नगर तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयनमा मतदान गरेका छन् । तल्लो संरचनादेखि नै पूर्ण लोकतान्त्रिक अभ्यासमा नेपाली कांग्रेको महाधिवेशन सम्पन्न हुँदैन । 

सभापतिमा दर्जन बढी आकाक्षी छन्, यस्तै महामन्त्रीदेखी अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू मतदानको प्रकृयाबाटै नेतृत्वमा आउनेछन् । सम्भावना बढी भएका हालका पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधी, शशांक कोइराला र डा. शेखर कोइराला मध्ये दोस्रो चरणमा कुनै दुई जनाका बीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । यसैलाई असली चुनावी प्रकृया भनिन्छ । शेरबहादुर देउवा हाल पार्टी सभापति रहेपनि पुनः सभापति बन्नका लागि वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिदेखिको हात हुन्छ, उनले ओलीको जस्तो म सर्वमान्य नेता हुँ भनेर हुकुम चलाउन सक्दैनन् । 

मुख्य दलहरुको नेतृत्व तहमा  यतिबेला युवा पुस्ताको जोडदार माग भईरहेको छ । युवा पुस्ताको माग यसरी भएको छ कि मानौं यी पुराना नेताहरू पुरै निकम्मा भईसके । यसरी चर्चा गरिँदै छ कि यिनले अब माखो मार्न सक्दैनन् । तर यथार्थमा आम नागरिकको चाहना भनेको यत्ति हो कि, राज्य संचालन गर्ने राजनीतिक दलहरूमा सक्षम नेतृत्व आओस भन्ने चाहनानै हो । 

आम नागरिक बाटो, बिजुली, पानीको व्यवस्था भएमा र मुलुक शुसाशन कायम भएमा केही इलम गरेर आफ्नो पेट आफैं भर्न सक्षम छन् । मुलुकमा धेरै राजनीतिक क्रियाकलाप मात्रै भए अब बिकासको नारा लगाउने नेता चाहियो भन्ने एक मात्रै चाहनाका कारण आम राजनीतिक कार्यकर्ता र मुलुकवासी राजनीतिक दलमा नयाँ नेतृत्वमा युवा पुस्ता आउनुपर्छ भन्ने चाहना राख्नु स्वभाविक मान्न सकिन्छ । 

यसरी नयाँ पुस्ता राजनीतिमा आउनु देशका लागि पनि सुखद पक्ष हो । यदी यसरी नै नयाँ पुस्ता राजनीतिक दलमा प्रवेश हुँदै गएमा एकै रातमा होईन समयानुकुल नेतृत्वमा पनि सक्षम युवा पुस्ता आउनेछ अनि समृद्ध र बिकसित नेपालको सपना साकार हुनेछ । 

हालै बाग्लुङ्ग जिल्लाबाट क्षेत्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भर्खरै १८ पुगेकी उषा सापकोटाहरूले राजनीतिमा भविष्य खोज्नु र प्रतिनिधिमा आउनुले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रिक परिपाटीलाई पनि थप मजबुत गरेको छ साथै, स्थानीय तहबाट नेतृत्व चयन गरेर नेपाली कांग्रेस जरादेखीनै संस्थागत हुँदैछ भन्ने संकेत गरेको छ । 



Author

थप समाचार