दल

रुपन्देहीमा संस्थापन पक्ष बलियो, भरत शाह निर्णायक

बिक्रम खड्का |
मंसिर ९, २०७८ बिहीबार १५:५२ बजे

बुटवल- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही जिल्लामा संस्थापन पक्ष बलियो देखिएको छ । क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरुको संख्या हेर्दा सभापति शेरबहादुर देउवा निकट समूह अगाडि देखिएको हो । 

 पाँच वटा प्रतिनिधिसभा क्षेत्र रहेको रुपन्देहीमा दुईवटा क्षेत्रको क्षेत्रीय सभापति संस्थापनइतर पक्षले जितेको छ, भने बाँकी तीनमा संस्थापन पक्षले जितेको छ । 


क्षेत्र नं २ का हरि लम्साल र क्षेत्र नं ४ का मुकेश यादव संस्थापनइतर समूहवाट विजयी भएका हुन् । क्षेत्र न १ का हिरा केसी, क्षेत्र नं ३ का शुशिल गुरुङ र क्षेत्र न ५ का वसिउल्लाह मुसलमान संस्थापन पक्षका हुन् । 

संस्थापन पक्षमा पनि जिल्लामा बालकृष्ण खांण र भरत शाहको अलग-अलग समूह छ । उनीहरु दुबैै जना केन्द्रमा देउवा निकट भएपनि जिल्लामा अलग-अलग समूहमा देखिएका छन् । 

 क्षेत्र न ५ मा भरत शाह निकट सभापति र महाधिवशेन प्रतिनिधिहरु छन् । त्यहां निर्विरोध कार्यसमिति चयन भएको थियो । सो क्षेत्रमा प्रदेशसभाका उम्मेदवार विष्णु पोख्रेल पनि शाहसँग मिलेका छन् । पोख्रेल केन्द्रमा शेखर कोईराला निकट हुन् । त्यसैले केही महाधिवेशन प्रतिनिधिहरु पोख्रेलका पनि रहेका छन् । 

 क्षेत्र नं १ मा खाण निकट हिरा केसीसहित उनको पुरै प्यानलले जितेको छ । महाधिवेशन प्रतिनिधिहरु पनि सबै सोही समूहकाले जितेका छन् । यता क्षेत्र नं ३ मा पनि खाण निकट सभापति शुशिल गुरुङ सहित सबै प्यानलले जितेको छ । सो क्षेत्रमा पनि सबै महाधिवेशन प्रतिनिधि खाण निकट आएका छन् । 

त्यसो त  क्षेत्र न २ मा संस्थापन पक्षका ८ जना महाधिवेशन प्रतिनिधि विजयी भएका छन् । बाँकी संस्थापनइतर समूहवाट निर्वाचित भएका छन् । सहमतिवाट निर्विरोध भएको रुपन्देहीको क्षेत्र नं ४ मा ५ जना संस्थापन पक्षका प्रतिनिधिहरु आएका छन् भने बाँकी संस्थापनइतरका निर्वाचित भएका छन् । 

रुपन्देहीमा सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरत शाह निर्णायक मानिएका छन् । उनले जिल्लामा जसलाई समर्थन गर्दछन् उही समूहको पल्लाभारी हुने अहिलेसम्मको परिणामले देखाएको छ । 

यता गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणले सहमतिबाट जिल्ला नेतृत्व छनोट गर्ने भन्दै छलफल थालेका छन् । उनले नेता भरत शाह सहितका अन्य नेताहरुसँग निरन्तर छलफल अघि बढाएका हुन् । 

 आफ्नै भाई समेत रहेका जिल्ला सचिव रामकृष्ण खाण सभापतिका प्रवल दाबेदार रहेका छन् । संस्थापनइतर समूह र भरत शाह पक्षले अझै औपचारिक निर्णय नगरिसकेकोले रुपन्देही जिल्लाको नेतृत्व के हुन्छ भन्ने विषय अन्योलमै छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x