दल

'नारायणी किनारमा महोत्सव छ भनेर आएको, रमाइलै रहेछ'

अनिष भट्टराई | विनोद देवकोटा |
मंसिर १०, २०७८ शुक्रबार १२:२७ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

पुल्चोक- चितवनको नारायणी किनारमा देशभरीमा मानिसहरू भेला भएका छन् । थरिथरिका मानिसहरू ओहोरदोहोर गरिरहेका छन् । जिन्दावाद, हाइहाइका नारा पनि घन्की रहेका छन् । केपी ओलीका ठूल्ठूला प्रतिमा र ब्यानरले नदी किनार रंगिएको छ ।

नेतादेखि सांसदसम्‍म कार्यर्तादेखि जनतासम्मलाई नारायणी किनारमा मेला लागेको छ । नेकपा एमालेको दशौँ महाधिवेशनको रौनक निकै छ । भिड छिचोल्दै जाँदा थरिथरि मानिसहरू भेटिन्छन् । कोही नेता चुन्‍न आएका कोही चुनिएको हेर्न । तर कोही भने रमाइलो हेर्नकै लागि चितवन पुगेका छन् । उनीहरू नदी किनारमा हेरेरै रमाएका छन् । भन्छन्, ‘यहाँ त 'महोत्सव' रहेछ ।’ हो बास्तवमै चितवनमा एमालेका 'महोत्सव' नै चलिरहे छ । 


यही भिडमा भेटिए धनुषाका ६५ वर्षीय मागेश्वर यादव । उनी पनि 'महोत्सव' हेरेरै मख्ख छन् । धेरैजसो उनका जवाफ बनिबनाउ छन् । लाग्छ कसैले यही भन्‍नु भनेर सिकाएको छ र उनले कन्ठस्त पारेका छन् । यहाँ किन आउनुभएको ? इकागजको पहिलो प्रश्नको उनले फरक जवाफ दिए, ‘हामी त हिजै आएको । राति एक बजे पुग्यौँ । रातभरि गाडीमै सुतियो,’ हिन्दी लवजमा नेपाली बोल्ने प्रयास गरेका उनले भने, ‘किन आएको भन्‍ने । यहाँ रमाइलो छ भनेर आएको । 'महोत्सव' छ भनेर आएको  । रमाइलै त रहेछ । यत्रो भव्य कार्यक्रम रहेछ ।’ पार्टीको कार्यक्रम/महाधिवेशन भन्‍ने त थाहा छ नि ? प्रश्न सकिन नपाउँदै उनले भने, ‘एमालेको कार्यक्रम हो । ओली (केपी शर्मा ओली) आउने भनेर आएको । महाधिवेशन कि के पनि होला । त्यो पछि होला अहिले रमाइलो भइरहेछ ।’

यस्ता महाधिवेशनमा के हुन्छ भन्‍नेबारे उनी अनविज्ञ थिए । के के हुन्छ पछि थाहा भइहाल्छ नि’ उनले भने । उनीसँगै थिए रामजुलुम मुखिया ? धनुषाबाटै आएका ७६ वर्षीया मुखिया राजनीतिकरूपमा जानकार रहेछन् । एमालेको महाधिवेशनमा सहभागी हुन आएको बताएका उनले निकै लामो गफ गरे । महाधिवेशनले देश विकास हुने विश्वास लिएका मुखियाले एमाले विभाजनले कुनै असर नपरेकोसमेत सुनाउन भ्याए । ‘एमालेको महाधिवेशनमा आएको हो । पार्टी बलियो बनाएर देश विकास गर्ने हो’ उनले भने ओली त फेरि सरकारमै जाने हो । देश विकास गर्ने हो । एमाले फुट्यो भन्छन् नि । बास्तवमा त्यो केही पनि होइन । कोही पनि एमाले छोडेर गएको छैन । फुटे पनि केही फरक परको छैन । एक गए दुई आउँछन् ।’ 

महाधिवेशनमा उत्साहका साथ रमाएका उनलाई आफ्नो क्षेत्रका जनप्रतिनिधिप्रति भने निकै गुनासो रहेछ । बेप्रशंग उनले त्यो गुनासो सुनाउन भ्याए । ‘एमाले राम्रो पार्टी हो । यसमा सबै राम्रा छन् । म त सानैदेखि लागेको हो,’ उनले भने,’ तर, कोही दलाल भएर पनि निकिने रहेछन् । हाम्रो क्षेत्रको सांसद पनि यस्तै भयो । हामीले सबैले मिलेर भोट माग्यौँ । जितायौँ । तर, जनकपुर गएपछि फर्केन । यस्ता हुन्छन् कोही कोही । अब भोट माग्‍न आउँदा हेनुपर्छ ।’ उनीहरूकै समूहमा केही महिलाहरू पनि थिए । उनीहरूले बोल्न मानेनन् । केहीले बोल्न ओठ हल्लाए पनि सँगै भएका अरुले नबोल्न इशारा गरेपछि उनीहरू बोलेनन् ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x