दल

‘केपी बालाई हेर्न आएँ’

अनिष भट्टराई | विनोद देवकोटा |
मंसिर १०, २०७८ शुक्रबार १२:४७ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

चितवन- नेकपा एमालेको १०औँ महाधिवेशनका लागि पार्टीका नेता कार्यकर्ताहरू यतिबेला चितवनमा छन् । पार्टीको महाधिवेशनको पहिलो दिन आज बिहान महाधिवेशनस्थल पुग्दा हजारौं कार्यकर्ताहरू नेताको प्रतिक्षामा थिए । कोही झाँकी लिएर आएका थिए, कोही पार्टीको झण्डा फहराउँदै नारा लगाइरहेका थिए ।

यही भिडमा भेटिए वालिङका भेषबहादुर रेग्मी । ढाका टोपी लगाएर हातमा झोला बोकी भुइँमा बसिरहेका रेग्मी बिहान ४ बजे मात्र चितवन आइपुगेका थिए । वालिङबाट बिहीबार राति ९ बजे हिँडेका उनी ४ बजे चितवन झर्नेबित्तिकै नारायणी नदी किनारमा गए । ‘बसेकै छैन, यत्तिकै हो । बिहान ४ बजे आइयो, कति बेला फर्कने हो थाहा छैन,’ रेग्मीले भने । वालिङबाट उनीसहित ५३ जनाको टोली चितवन आएको छ । रेग्मी चितवनमा मेला भएकाले हेर्न आएको बताउँछन् । उनलाई पार्टीको कुनै सुर्ता छैन । उनी आफैँ भन्छन्, ‘बुढो भएपछि पार्टीसार्टी किन जान्‍नुपर्‍यो र ?’


बुढ्यौलीमा निशुल्क मेला हेर्न आउन पाएपछि उनी चितवन आइपुगेका हुन् । अब उनी मेलामै रमाएर घर फर्कन चाहन्छन् । उनी चितवन आइसकेपछि सबैभन्दा पहिले गएको ठाउँ हो नारायणी  नदीको पुल । ‘मेरा साथीहरूले पुल देख्नुभएको थिएन, दशबाह्र जना साथीहरू पुल हेर्न पनि गयौं,’ उनी आफू आएको उद्देश्य सुनाउँछन्, ‘ यता रमाइलो पनि रहेछ । मेला पनि रहेछ । मेला पनि के कस्तो रहेछ बुझौं भनेर पनि हो ।’

उनलाई एमाले वा केपी ओलीसँग खास लगाव छैन । तर सबैलाई राम्रै नेता ठान्छन् । पार्टीको बारेमा केही पनि थाहा नभएको उनको प्रतिक्रिया थियो । ‘भन्‍न लाई कसले भन्‍ने केपी ओली आउने रे भनेर आएको । राम्रो त सबै राम्रा होलान् अब मेलाले गर्दा आएको म,’ उनले भने, ‘एमालेको बारेमा केही थाहा छैन, अब सबै आउने रहेछन् । बस्ने रहेछन् । एमाले रहेछन् भन्‍ने बुझ्ने मात्र अब म बुढो मान्छे ।’

रेग्मीलाई एमालेको महाधिवेशन चलिरहेको पनि जानकारी छैन । उनलाई महाधिवेशन कहिले हुने भन्‍ने पनि थाहा छैन । पछि कुनै बेला हुने उनको अनुमानमात्र छ । ‘महाधिवेशन त होला नि पछिपछि आजै त नहोला । जे भएपनि होला नि,’ रेग्मीले भने । 

वालिङकै सुस्मिता सिन्हा विद्यार्थी राजनीतिमा छिन् । उनी पनि वालिङबाट बिहान चितवन आएकी हुन् । उनलाई नेकपा अध्यक्ष केपी ओली औधी मनपर्छ । ‘केपी बा आउनुहुन्छ भनेर आएकी हुँ । एकदमै मन पर्छ,’ सुस्मिताले भनिन् ।

केपी ओली देखेपछि रमाइलो हुने र ओलीलाई हेर्न नै पर्खिरहेको सुस्मिताले बताइन् । ‘अहिले त आइसक्नु भएको छैन, अब आएपछि एकदमै रमाइलो हुन्छ,’ सुस्मिता उत्साहित देखिइन् । उनको विचारमा केपी ओली राम्रो काम गर्ने व्यक्ति हुन् । ‘जनताको धेरै सेवा गर्नुभएको छ,’ उनले सुनाइन् ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x