दल

रुपन्देही कांग्रेसमा सहमति

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १३:३१ बजे

फाइल फोटो

बुटवल - नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पालिका र क्षेत्रमा प्यानल प्रतिस्पर्धा भएको रुपन्देहीमा जिल्ला नेतृत्व भने सहमतिबाटै चुनिने भएको छ । गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणको विशेष पहलमा जिल्ला नेतृत्व सहमतिबाटै चयन गर्न रुपन्देहीका नेताहरु एकमत भएका छन् । 

जिल्ला नेतृत्वका लागि निर्णयक मानिएका सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहलाई मिलाएपछि नेता खाँणले पार्टीको संस्थापन इतर समूहलाई पनि सहमति गराएर नेतृत्व छनोट गर्ने सफल भएका हुन् । संस्थापन पक्ष र इतर समूह भनेर चुनावमा भिडेका रुपन्देहीका नेताहरुले जिल्ला कार्य समितिमा भागवडा गरेका छन् ।


 भागभण्डाअनुसार जिल्ला सभापति संस्थापन पक्षले पाएको छ । दुई उपसभापतिमा एउटा भरत कुमार शाह र अर्को संस्थापन इतर समुहले हात पारेको छ । त्यसैगरी सचिव र सहसचिव पनि भागबण्डा गरिएको छ । गृहमन्त्री खाँणसहित लेखा समिति सभापति शाह, रूपन्देहीका सभापति अब्दुल रज्जाक, संघीय सांसद प्रमोद यादव, प्रदेश सांसद अष्ठभुजा पाठक, पुर्व पार्टी सभापति रामचन्द्र ढकाल, पूर्व क्षेत्रीय सभापति मातृकाप्रसाद यादव लगायतको समूहले लिखितै सहमति गरेको छ । 

सहमतिसँगै रुपन्देही जिल्लाको सभापतिमा अहिलेका पार्टी सचिव रामकृष्ण खाँण सभापति हुने भएका छन् । उनी गृहमन्त्री खाँणका सहोदर भाइ हुन् । दुई कार्यकाल सचिव भएका उनले सहमतिबाटै जिल्ला नेतृत्व सम्हाल्ने अवसर पाउने भएका छन् । 

रुपन्देही जिल्लाका पार्टी सभापति अब्दुल रज्जाकका अनुसार रामकृष्ण खाँण सहमतिबाटै सभापती हुने भएका छन् । त्यसका लागि संस्थापन इतर समूहले लिखित रुपमै सहमति जनाएको छ ।
अन्य पदाधिकारी र सदस्यहरु पनि सहमतिबाटै चयन हुने भए पनि  समूहमा विभाजन भएका रुपन्देही कांग्रेसका कार्यकर्ताहरु उत्साहित भएका छन् । 


Author

थप समाचार
x