दल

एमालेको १० औँ महाअधिवेशन

सर्वसम्मत पदाधिकारी चयन गर्ने ओलीको प्रयास, आकांक्षीमा बढ्यो सन्‍त्रास

विभिन्न पदमा उठेका उम्मेद्वारको भित्रभित्रै तीव्र प्रचारप्रसार !

विनोद देवकोटा |
मंसिर ११, २०७८ शनिवार २०:४५ बजे

सौराहा - नेकपा एमालेको १० औँ महाधिवशन अन्तर्गत सर्वसम्मतिको प्रयास भइरहेको छ । सर्वसम्मतिका लागि भन्दै गएराति बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति सदस्य संख्या बढाउनेदेखि पदाधिकारी र पोलिटब्यूरोसमेत ब्यूताएको थियो । महाधिवेशनको दोस्रो दिन शनिबार एमाले नेताहरूले सबैभन्दा बढी उच्चारण गरेको शब्द पनि यही होला, सर्वसम्मतिमै नेतृत्व चयन । नेतृृत्व मात्रै होइन, सम्पूर्ण महाधिवेशन नै सहमतिमा सम्पन्न गर्नुपर्ने भन्दै दिनभरीजसो नेताहरूले सहमतिको रटान लगाइरहे । 

सहमतिकै नाममा बिहान १० बजे सुरु हुने भनिएको बन्द सत्र दिउँसो तीन बजे मात्रै सुरु भयो । सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिकै रटान दोहो¥याए । उसो त उनले बन्द सत्रस्थलमा प्रवेश गर्नुअघि पनि यही शब्द उच्चारण गरेका थिए, ‘महाधिवेशन सहमतिमै सम्पन्न हुन्छ ।’ सम्बोधनका क्रममा पनि उनले दोहो¥याए, ‘पार्टीलाई एकताबद्ध र अनुशासित बनाउन यो महाधिवेशनले नेतृत्व चयन गर्नेछ । पार्टीभित्र मूल्यांकनको आधारमा समझदारी कायम गरिनेछ ।’


उसो त सहमतिको रटान बिहानैदेखि सुरु भएको थियो । शनिबार बिहानै बन्दसत्रस्थलबाहिर केही प्रतिनिधिले नाराबाजीसमेत गरे, ‘सर्वसम्मत नेतृत्व चयन गर, केपी ओली जिन्दावाद...।’ दिनभर नेताहरूले पनि सहमतिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखिरहे । कतिपयले सहमति बने आफूले आकांक्षा गरेको पदसमेत बाधक नहुने अभिव्यक्ति दिए । त्यसैमध्येका एक थिए लालबाबु पण्डित । उपाध्यक्षको  आकांक्षी रहेका उनले इकागजसँग भने, ‘म उपाध्यक्षको दाबेदार हुँ । तर, सहमति हुन्छ भने म बाधक बन्दिनँ ।’ 

यसको मतलब हो उनी सहमति भए उपाध्यक्ष पद त्याग्न तयार छन् । पण्डितमात्रै होइन एमाले प्रवक्ता प्रदीप ज्ञवाली, नेता सुरेन्द्र पाण्डेको मत पनि सहमतिकै पक्षमा थियो । उनीहरूको विश्वास पनि सहमतिमै सम्पन्न हुनेमा थियो । एमाले नेता खगराज अधिकारीले त सहमतिको विकल्प छैनसम्म भन्न भ्याए । 

सचिवको आकांक्षा राखेका उनले सहमति भए पार्टीले जुनसुकै जिम्मेवार दिए पनि मान्न तयार रहेको जिकिर गरे । महाधिवेशन सहमतिमै सम्पन्न हुने भए उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनसमेत नपाउने उनको तर्क थियो । ‘अध्यक्षले सहमतिमै महाधिवेशन सम्पन्न गर्ने घोषणा गरे रावलजीले के मा उम्मेदवारी दिने ?’ उनको प्रश्न थियो, ‘सहमतिको विकल्पै छैन । सहमति हुन्छ ।’

महाधिवेशनमा विभिन्न पदका धेरै आकांक्षी छन् । तर, आफ्नो पक्षमा खुलेर प्रचारप्रसार गरेको देख्न पाइएन । छातीमा आफ्नै फोटो टाँसेर मत मागिरहेको पनि कतै देखिएन । उसो भए चुनावी माहौल नै थिएन त ? थियो । महाधिवशनमा चौतर्फी सर्वसम्मतको चर्चा भइरहदा विभिन्न पदका आकांक्षी भने सशंकित थिए । सहमतिका नाममा आफूलाई किनारा लगाइने हो कि ? उनीहरूले सुषुप्तरूपमा प्रचारप्रसार पनि गरिरहेका थिए । मत पनि मागिरहेका थिए । यसको अग्रपङ्तीमा थिए, अध्यक्षका आकांक्षी भीम रावल । उनी जहाँजहाँ प्रतिनिधि भेट्यो भोट मागिहाल्थे ।

‘अध्यक्षमा उठ्ने तयारी गरेको छु । मत दिनुहोला,’ उनी भन्थे । एक मत मात्रै आए पनि चुनाव लड्ने बताइरहेका रावलमात्रै होइन, अरु केही आकांक्षी पनि मत मागिरहेको थिए । प्रचार गररहेका थिए । त्यसमध्येकै एक हुन् तनहूँकी राधा महत । केन्द्रीय सदस्यकी आकांक्षी महत भिजिटिङ कार्डजस्तै देखिने प्रचार सामाग्री बाँडिरहेकी थिइन् । 

उनको आग्रह थियो, ‘म केन्द्रीय सदस्यमा उठ्दैछु मत दिनुहोला ।’ सबैले सहमतिको कुरा गरिरहेका छन् । तपाईं मत मागिरहनु भएको छ ? इकागजको प्रश्नमा उनको जवाफ थियो, ‘सहमति भएको राम्रो । तर, सहमतिको नाममा आकांक्षीलाई नजरअन्दाज गर्न पाइँदैन । 

आकांक्षी धेरै भए चुनावमै जानुपर्छ । सहमतिका नाममा सबै समेटिएनन् भने के गर्ने ?’ उनी प्रतिस्पर्धा गरेरै भए पनि केन्द्रीय समितिमा जान चाहन्छिन् । यस्तो आकांक्षा राख्ने उनी मात्रै होइनन् । अरु पनि केही थिए । ‘सहमतिका नाममा गोजीबाट मान्छे आउन सक्छन् । सबैलाई मिलाएर लैजान सकिँदैन । यसो गर्दा केहीको नेतृत्वप्रति गुनासो हुनसक्छ । प्रतिस्पर्धा ग¥यो भने जसले जित्यो ऊ जान्छ,’ पदाधिकारीका एक जना आकांक्षीले भने, ‘यसो गर्दा कसैको गुनासो पनि हुँदैन ।’ सहमतिको भूतले उनलाई पनि सताएकोले होला । उनी यति कुरा ‘रेकर्डमा’ भन्न भने डराए । नाम उल्लेख नगर्ने बताएपछि उनले मुख खोले । 

यस्तो आवाज सानै भए पनि अरु पनि धेरै थिए । तर, धेरैजसोले पत्रकारका अगाडि बोल्न मानेनन् । भित्रभित्र उनीहरूले आफ्नो नेतृत्व इच्छा प्रकट गर्दै भन्थे ‘सहमतिका नाममा आफ्नो आकांक्षा नमारियोस् । प्रतिस्पर्धा गर्ने अवसरबाट वञ्चित नगरियोस् ।’


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x