दल

एमाले १० औँ महाअधिवेशन

ओली पदाधिकारीमा भीम रावल र घनश्याम भुसाल आउट !

इकागज |
मंसिर १३, २०७८ सोमबार ४:११ बजे

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको बन्द सत्रमा प्रस्ताव गरेको पदाधिकारीमा भीम रावल र घनश्याम भुसाललाई बाहिर राखेका छन् । रावल र भुसाल सुरुदेखि नै ओलीविरुद्ध आक्रामक रुपमै असन्तुष्ट थिए ।

रावलले अध्यक्षमा र भुसालले उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी समेत गरेका छन् । त्यसमध्ये रावलले घोषित रुपमै अध्यक्षको उम्मेद्वारी दर्ता गराउनका लागि उम्मेद्वारी दरखास्त फारम भरिसकेका छन् । 


ओलीले सुरुदेखि नै सर्वसम्मतका नाममा आफु निकट नेताहरुलाई पदाधिकारीमा ल्याएर आफ्नो विरोध गर्नेलाई पन्छाउने रणनीति अख्तियार गरेका थिए । सोही अनुसार उनले पदाधिकारी प्रस्ताव गर्दा आफ्नो विरोध गर्नेलाई पदाधिकारीमा ल्याएनन् ।

आफूनिकट इश्वर पोखरेललाई उनले वरिष्ठ उपाध्यक्ष बनाएका छन् भने शंकर पोखरेललाई महासचिव नै बनाए । यस्तै प्रदीप ज्ञवाली र विष्णु रिमालले उनले उपमहासचिव बनाए । तर आफ्नो चर्को विरोध गर्ने रावल र भुसाललाई उनले पदाधिकारीमै समेटेनन् ।

पछिल्लो समय माधव नेपालले पार्टी छाडेर गएपछि आफुनिकट बनेका सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलाई ओलीले उपाध्यक्ष बनाएका छन् । यस्तै योगेश भट्टराई र गोकर्ण बिष्टलाई सचिवमै निरन्तरता दिएका छन् । 

नेपालले एमाले फुटाएर नेकपा एकिकृत समाजवादी पार्टी खोल्दा पनि एमालेमै बसेका १० भाईका नामले चिनिएका पूर्व माधव नेपाल गुटका नेतालाई फुटाउन ओलीले पदाधिकारीमा उनीहरुको प्रस्तुती हेरेर स्थान दिएका छन् । जसको नेतृत्व रावलले गर्थे । भुसालले भित्रभित्रै उपाध्यक्षको आकांक्षा राखेपनि खुलेर बोलेका छैनन । तर रावलले उम्मेद्वारी नै घोषणा गरिसकेका छन् । सम्भवतः सोमबार उनले अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनेछन् ।

रावलको उम्मेद्वारी दर्ता भएपछि एमाले महाधिवेशनमा अध्यक्षका लागि मात्रै चुनाव हुने सम्भावना देखिएको छ । बाँकी पदाधिकारीमा असन्तुष्टि जनाएर उम्मेद्वारी दिने हिम्मत एमालेका अरु नेताले देखाएका छैनन । 

ओलीले एकलौटी पदाधिकारीमा आफु निकटका नेताहरुको नाम मात्रै प्रस्ताव गरेपछि अरु नेता कार्यकर्तामा पनि असन्तुष्टि चुलिएको छ । 


Author

थप समाचार
x