दल

एमाले महाधिवेशन प्रतिनिधि भन्छन्:

'उहाँहरु नेतागिरी गरेर खानुहुन्छ, हामी काम गरेर खानेलाई दुःख भयो'

पार्टीले दुःख दिने काम बन्द गरोस् !

अनिष भट्टराई | अनुज बज्राचार्य |
मंसिर १४, २०७८ मंगलबार २:५७ बजे

चितवन - तेस्रोपटक तोकिएको समयमा पनि मतदान सुरु नभएपछि एमाले १० औँ महाधिवेशनका प्रतिनिधि निराश भएका छन् । महाधिवेशनको तेस्रो दिनसम्म पनि नयाँ नेतृत्वका लागि चुनाव हुन नसकेपछि प्रतिनिधि निराश भएका हुन् ।

मंगलबार राती २ बजे मतदानका लागि मतदानस्थल पुगेका महाधिवेशन प्रतिनिधि नेतृत्वप्रति आक्रोशित देखिएका छन् । मतदानका लागि २ बजे बोलाउने तर मतदान सुरु गर्ने प्रवृत्तिले काम गरेर खाने कार्यकर्तालाई दुःख र सास्ती भएको महाधिवेशन प्रतिनिधिले बताएका छन् ।


एमाले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएकी नेतृ मञ्जु मलासीले मतदानका लागि बोलाएर पार्टीले दुःख दिने काम गरेको प्रतिक्रिया दिइन् । नेताहरुलाई जस्तो कार्यकर्तालाई सहज नहुने भन्दै उनले यसरी महाधिवेशनमा आउँदा घरको समस्या पनि बुझिदिनुपर्ने बताइन् । 

'सबै कार्यकर्ता नेताजस्ता हुँदैनन् । खान, डुल्न, बस्न समस्या छ, कोहि बिरामी छन्,' उनले इकागजसँग भनिन्, 'पार्टीले दुख दियो, दुख दिने काम बन्द होस् ।'

यस्तै छेउमै रहेकी अर्की महाधिवेशन प्रतिनिधि सीता विश्वकर्माले पनि नेताहरु नेतागिरी गरेर खाने भएपनि आफूजस्ता कार्यकर्ताले काम गरेर खानुपर्ने भएकाले अवस्था जटिल बन्दै गएको बताइन् । डोटीबाट महाधिवेशन प्रतिनिधि भएर सौराहा पुगेकी उनले दुई दिनसम्म नयाँ नेतृत्वका लागि चुनाव र सर्वसम्मत भएपनि नयाँ नेतृत्व नचुनिँदा त्यसको मारमा आफूजस्ता सोझा कार्यकर्ता परेको बताइन् ।

अर्का एक महाधिवेशन प्रतिनिधिले पनि पटक पटक मतदानको समय तोकेर मतदान सुरु नहुनु दुःखद भएको बताए । 


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x