दल

राप्रपाको चुनावी प्रक्रियाबाट अलग्गिने राणाको घोषणा

इकागज |
मंसिर १४, २०७८ मंगलबार १८:१ बजे

फाइल फोटो

काठमाडौँ - भोलिदेखि सुरु हुन लागेको राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पशुपति शमशेर राणाले चुनावी प्रक्रियाबाट अलग्गिने घोषणा गरेका छन् । अध्यक्षका लागि राप्रपा अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरेपछि राणाले चुनावी प्रक्रियाबाट अलग्गिने घोषणा गरेका हुन् ।

‘आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको छ । नेतृत्वको रस्साकसीमा फेरी पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो,’ उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु ।’


साथै उनले सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् । सर्वसम्मत विधिबाट अध्यक्ष चयन गर्न आफूले भूमिका खेल्ने पनि उनले बताएका छन् । राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि आफनो भूमिका र सहयोग अनवरत रहने पनि उनले बताएका छन् । 


Author

थप समाचार
x