दल

अरुको पार्टीको चिन्ता नगर्न कार्यकर्तालाई देउवाको आग्रह

इकागज |
मंसिर १४, २०७८ मगलवार १९:१ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । मंगलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन् ।

उनले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताए । प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखालायन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताए । 


प्रधानमन्त्री देउवाले भने, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ । तपाईहरुलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए । आगामी दिनमा यो पार्टीलाई एकतावद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ । उहाँहरुको भन्दा ठूलो पार्टी बनाउँ ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए । उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाए । 

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्रकोल लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए । 


Author

थप समाचार
x