दल

कांग्रेस महाधिवेशन

कांग्रेसमा ५८ जिल्ला सभापति निर्वाचित

समूह दाबीमा संस्थापन ३१, इतर समूह २७

इकागज |
मंसिर १४, २०७८ मंगलबार २०:१६ बजे

फाइल फोटो

काठमाडौं - नेपाली कांग्रेस निर्वाचन समितिले मंगलबारसम्म ५८ जिल्ला सभापतिको मत परिणाम सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५८ जिल्लामा नेतृत्व चयन भइसकेको छ । 

संस्थापन पक्षले घोषित सभापतिमध्ये ३१ स्थानमा आफ्नो पक्षमा भएको दाबी लिएको छ । संस्थापन पक्षले ३१ स्थानमा दाबा लिएपछि २७ स्थानमा इतर समूहका सभापति निर्वाचित भएको देखिन्छ । पछिल्लो परिणामअनुसार बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर विजयी भएका छन् । उनी संस्थापन पक्षका हुन् ।


संस्थापन पक्षबाट डडेल्धुरामा भीमबहादुर साउद, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा जितेन्द्रकुमार श्रेष्ठ, काभ्रेमा तीर्थ लामा, नुवाकोटमा रमेश महत, उदयपुरमा हिमाल शर्मा, डोल्पाबाट दीपेन्द्र शाही, जुम्लामा कर्णबहादुर शाही, सल्यानमा केशरबहादुर विष्ट, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु सभापति बनेका छन् ।

यस्तै लमजुङमा डा.टकराज गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह, ओखलढुंगामा तेजेन्द्र खनाल, रामेछापमा पूणर्बहादुर तामाङ (कान्छाराम), पर्वतमा युवराज जोशी, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, रुपन्देहीमा रामकृष्ण खाँण, कञ्चनपुरमा पदम बोगटी, इलाममा डम्मर खड्का, ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, मुगुमा ऐनबहादुर शाही र बझाङमा खडक बोहरा पनि संस्थापन पक्षबाटै सभापति बनेका छन् । 

सुर्खेतमा खड्क पोखरेल, कास्कीमा किशोरदत्त बराल, म्याग्दीमा खमबहादुर गर्बुजा, मनाङमा शंकर गुरुङ, तनहुँमा जितप्रकाश आले संस्थापन समूहबाटै सभापति निर्वाचित भए । संस्थापनइतर समूहबाट काठमाडौंमा सबुज कृष्ण बानिया, स्याङ्जामा राजु थापा, कपिलवस्तुमा अब्दुल कलाम, दार्चुलामा ललितसिंह बोहोरा, दाङमा शंकर डाँगी र रोल्पामा किशोर आचार्य सभापति भएका छन् ।

यस्तै मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल पनि संस्थापन इतरबाटै जिल्ला सभापति बनेका छन् । पश्चिम नवलपरासीमा अर्जुनकुमार पोखरेल, खोटाङमा विष्णुकुमार राई, पाल्पामा हिमालदत्त श्रेष्ठ, दैलेखमा मणिराम रेग्मी, संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही र दोलखामा बर्मा लामा विजयी भए । 

अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे संस्थापनइतर समूहका सभापति हुन् ।

धादिङमा रामनाथ अधिकारी, सुनसरीमा केदार भण्डारी, गुल्मीमा खिलध्वज पन्थी संस्थापन इतरका हुन् । झापामा देउकुमार थेवे निर्वाचित भएका छन् । उनी कृष्णप्रसाद सिटौला निकट भएको कांग्रेस नेताहरु बताउँछन् ।
 


Author

थप समाचार
x