दल

एमाले महाधिवेशन

रावल-भुसालको हारमा एमालेजनको उत्सव

विजयीभन्दा पराजित उम्मेद्वारको घोषणामा ताली !

विनोद देवकोटा |
मंसिर १५, २०७८ बुधबार ७:३ बजे

फोटो : अनुज बज्राचार्य

सौराह – चुनावमा प्राप्त हुने नतिजै दुई थरि हुन्छन् । जित वा हार । अपवादमा बराबरी हुनसक्छ । तर, फाइनल खेलमा बराबरीको विकल्प हुँदैन । एक पदमा दुई जनाले जित्दैनन् । बराबरी पनि मान्य हुँदैन । नेकपा एमालेको दसौं राष्ट्रिय माधिवेशनको नतिजा पहिल्यै तय थियो । निर्वाचन भयो । निर्वाचन परिणामा पनि पहिल्यै थाहा थियो । उम्मेदवारसम्मले चुनाव अघि नै आँकलन गरेको नतिजा मंगलबार अबेर एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुुब्बाले घोषणा गरे ।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेल..। केन्दीय समितिका ३०१, विभिन्न आयोगका पदाधिकारी र सदस्य । कोही सर्वसम्मत, कोही चुनावबाट चुनिएका । पहिल्यै थाहा भएको नतिजा सुनाउँदा उत्सुकता हुने कुरा भएन । विजयको उत्सव पनि हुने कुरै भएन । उत्सव बरु विजयभन्दा पराजयमा देखियो ।


विजयीभन्दा पराजित उम्मेदवारको नाम घोषणा हुँदा हलमा ताली बज्यो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएको घोषणा सुब्बाले गर्दा हलमा तालीको गडगडाहट सुनियो । रावल–घनश्यामको हारमा पनि एमालेजनले उत्सव मनाए । थपडी बजाए । हुनत रावल–भुसाल केन्द्रीय सदस्यमा विजयी भएका हुन् । रावलले अस्वीकार गरे । भुसालले गरेनन् । उनीहरूको विजयमा कसैले थपडी बजाएन । कसैले उत्सव मनाएनन् । 

०००००
नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मंगलबार सम्पन्न भएको छ । तीन दिने कार्यतालिकाअनुरूप मंसिर १० गते उद्घाटन भएको महाधिवेशन दुई दिन लम्बिएर सकिएको हो । मंलबार एमालेले पूरानै मान्छेलाई नयाँ अध्यक्षका रूपमा पाएको छ । यसअघिका अध्यक्ष ओलीकै हातमा पुनः एमालेको बागडोर पुगेको छ । 

मंगलबार बन्द सत्र समापानमा ओलीले लामो भाषण गरे । महाधिवेशन भव्यताका साथ सम्पन्न भएको जिकिर गरे । उद्घाटन सत्रमा पाँच लाख मान्छे आउने भनिएकोमा त्योभन्दा बढीको सहभागिता रहेको दाबी गरे । समापन सत्रमा महाधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई सम्झिए । नेता, कार्यकर्ता, स्वयंसेवक, होटेल व्यवसायी, मिडियाकर्मी सबैलाई सम्झिए । धन्यवादका शब्दगुच्छा अर्पण गरे । योगदानको चर्चा गरे । सफलताको श्रेय दिए ।

स्वदेशीदेखि विदेश पाहुँनासम्मलाई धन्यवाद भन्‍न भ्‍याए । उनकै शब्दका ‘परमादेश’बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवासम्मलाई सम्झिन भ्याएका ओलीले समापन समारोहमा सामिप्यमै रहेका रावलको नामै लिएनन् । जबकि निर्वाचन परिणाम घोषणापश्चात रावलले ओलीलाई बधाइ दिएका थिए । ओलीले त्यति राजनीतिक संस्कार देखाउन पनि आवश्यक ठानेनन् ।

हुनत रावल एमालेका नितै नेता हुन्, जसले 'ओलीवेशन'लाई महाधिवेशन बनाए । ओलीलाई चुनौती दिए । निडरताका साथ प्रजातान्त्रिक पद्धतिको प्रयोग गर्न बाध्य बनाए । आन्तरिक लोकतन्त्रको बिउ जोगाए । आगामी दिनमा ओलीलाई ९० प्रतिशत मत ल्याएर विजयी अध्यक्ष भन्ने बाटो खुलाए । टिके अध्यक्ष बन्नबाट जोगाए । रावलले लिएको चट्टानी अडानलले एमाले महाधिवेशन कम्तिमा महाधिवेशन बन्यो ।

आफू हारेर पनि चुनाव गराए । आन्तरिक लोकतन्त्र जोगाए । ओलीको एकाधिकारमाथि प्रश्न उठाए । पाँच दिनसम्म चलेको महाधिवेशनमा कुनै विचारको बहस भएन । राजनीतिक दस्तावेज पनि आएन । बरु यसअघि गोदावरीमा सम्पन्‍न विधान महाधिवेशनको धज्जी उडाए।

आफ्नालाई आधिकारिकता दिन विधान संशोधन गरियो । हो, भीम रावल-भुसाहरू हारे । जसमा एमालेजनले उत्सव मनाए । थपडी बजाए । कतिले मंगलबार राति दिपावलीसमेत मनाए होलान् । जलपान गरे होलान् । तर, एमालेको आन्तरिक लोकतन्त्र बचाउने रावल–भुसालहरूको नाम ओलीले नलिएपनि इतिहासमा भने लेखिएको छ । 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x