दल

गुटगत राजनीतिबाट वाक्क दीपकुमार उपाध्याय चुनावी प्रतिस्पर्धामै नजाने

इकागज |
मंसिर १६, २०७८ बिहीबार ९:१२ बजे

काठमाडाैँ- पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा यतिखेर उम्मेदवारी घोषणाको लहर चलिरहेको छ र आकांक्षी सूची निकै ठूलो छ । तर कांग्रेसका नेता दीपकुमार उपाध्याय पार्टीभित्र हुर्कदो गुटीय राजनीतिप्रति चिन्तित हुँदै आउँदो महाधिवेशनमा पदीय प्रतिस्पर्धामा नजाने भएका छन् । ‘गुटका कारणले गर्दा पार्टीभित्रको चुनाव परित्याग गरेको हुँ’ उपाध्यायले इकागजसँग भने, ‘गुटकै कारणबाट आउँदा चुनावमा पार्टीलाई जुन क्षति हुनेवाला छ, त्यसले चाहिँ मलाई अधिक चिन्ता लागेको छ ।’ 

उपाध्याय २०४८ यता संसदीय तथा कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए । उनी भारतका लागि नेपाली राजदूत समेत रहिसकेका छन् । ‘कुनै गुटमा लागेर कसैसँग उभिनु भन्दा आफ्नो नैतिकता, इमान जोगाएर बस्नु बेस ठान्दै चुनावी प्रतिस्पर्धामा नजाने निर्णय लिएको हुँ’ उपाध्यायले भने, ‘चुनावमा भागै नलिएपछि कतै या कुनै गुटमा लाग्नु परेन । विना गुटका मानिसका अस्तित्व समेत नहुने स्थिति देखिँदा संस्थागत सोच कहाँ पुग्छ ? यस्तो पनि हुन्छ ?’


तर उपाध्याले आउँदो संसदीय निर्वाचनमा भाग लिने या नलिने विषयमा भने कुनै निर्णय लिइसकेका छैनन् । खालि पार्टीको चुनावमा मात्र भाग नलिने निर्णय लिएका हुन् । ७२ वर्षीय उपाध्याय पार्टी र लोकतन्त्रका निम्ति त्यागको भावना मर्दै गएकामा चिन्तित छन् । भन्छन्, ‘जब पार्टीमा मूल्य, मान्यता, आदर्श भन्ने तत्व मर्दै गएको छ र पार्टीमा म...म...म... प्रवृत्ति बढेको छ । त्याग त कसैले उच्चारण गर्न समेत चाहँदैन । म भए हुन्छ, म नभए हुँदैन । अनि म नभए पार्टी पनि चाहिएन भन्ने सोच हुर्किनु दुःखदायी हो ।’

वडा तहदेखि कुँडिएका, भाँच्चिएका मनहरु जोड्न सकियो भने कांग्रेस जीवन्त रहने उल्लेख गर्दै उपाध्याय भन्छन्, ‘पार्टीको शीर्ष नेतृत्वमा चुनाव लड्न खोज्नेहरुबीच समन्वय, सद्भाव, सहकार्यको भाव हुनुपर्छ भन्ने सोच समेत छैन । गुटीय राजनीतिकै कारणले आउँदा निर्वाचनमा कांग्रेस हराउन अरु कोही चाहिँदैन, कांग्रेस नै काफी हुने स्थिति देखिएको छ ।’
 


Author

थप समाचार
x