दल

कांग्रेस महाधिवेशनको फोटोकथा

देशकै जेठो पार्टीमा ‘सर्वमान्य’ नेताको खडेरी

देउवा गुटमा पनि फुट, संस्थापन इतर पक्ष तितरवितर

विष्णु विश्‍वकर्मा | अनुज बज्राचार्य |
मंसिर २५, २०७८ शनिवार २२:१६ बजे

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सबै गुटमा फुट देखिएको छ । वडादेखि प्रदेश अधिवेशनसम्म संस्थापन पक्ष अर्थात प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गुट बलियो देखिएको थियो । तर महाधिवेशनको उम्मेद्वारी दर्तासम्म आइपुग्दा देउवा गुट नै सबैभन्दा बढी फुटको शिकार भएको छ ।


देउवा गुटका भरपर्दा सारथी यसपटक गुटविहीन रहे । कोही अर्को गुटमा प्रवेश गरे । कतिसम्म भने महामन्त्रीको स्वभाविक उम्मेद्वार भन्दै प्रचारप्रसार गरिरहेका युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले देउवा गुटबाट विद्रोह गर्नुपर्यो ।

कांग्रेस महाधिवेशन उद्घाटनसम्म प्रभावशाली ठानिएका शर्मा उम्मेद्वारी दर्ताको बेला भने प्रकाशमान सिंह गुटमा प्रवेश गरे । पिता गणेशमानको विरासत बोकेका सिंहले पनि उम्मेद्वारी दर्ताकै समयमा गुट खडा गरे । उपसभापतिमा कोइराला गुटबाट सुजाता कोइराला भित्र्याएका उनले महामन्त्रीको उम्मेद्वारमा देउवा गुटका विश्वप्रकाशलाई उपहारस्वरुप पाए ।

संस्थापन इतर पक्षमा प्रभावशाली ठानिएका सिंहले अन्ततः सहमति नभएपछि सभापतिमा उम्मेद्वारी दर्ता गर्दा अनुहार देखाउनकै लागि पनि अरु पदका उम्मेद्वार पाए । कांग्रेसको १४ औँ महाधिवेशनले सिंहलाई पहिलोपटक नयाँ गुटका रुपमा उभ्यायो । 

यस्तै नेपाली कांग्रेसको इतिहासदेखि वर्तमानसम्म जोडिएको कोइराला गुट यसपटक अन्योलकै दुर्दशाबाट अघि बढ्यो । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको कोइराला गुटसहितको संस्थापन इतर पक्ष महाधिवेशनमा तितरवितर बन्यो ।

शेखर कोइराला र प्रकाशमानले सभापतिमा दाबी नछाड्दा देउवाका सदाबहादुर प्रत्यासी पौडेलले यसपटक सभापतिको दौडबाट ‘सन्यास’ लिएजस्तै देखियो । आफ्नै गुटमा आफूलाई नमानेपछि निराश भएका उनले उम्मेद्वारीका लागि सकस व्यहोरेनन् । 

शेखर र प्रकाशमानले हंसमुख लगाएर सभापतिमा प्यानलसहित उम्मेद्वारी दर्ता गर्दा पौडेलले आफ्नो पीडा पोख्न विज्ञप्ति जारी गर्नुपर्यो । नेताहरुलाइ मिलाउन नसक्दा यसपटक पौडेल झन् बढी निराश मात्रै भएका छैनन्, सक्रिय राजनीतिबाटै टाढिने संकेत देखाएका छन् । 

यद्यपी पूरा जीवन कांग्रेसको राजनीतिमा बिताएका उनी भनेजसरी सक्रिय राजनीतिबाट टाढिने सम्भावना कम छ । नेपाली कांग्रेसभित्र ‘मुसा प्रवृत्ति’का नेता ठानिने कृष्णप्रसाद सिटौलाले पनि यसपटक निर्णायक समयमा आफ्नो गुट स्थापित गरे ।

युवा नेताहरुलाई बाेकेर युवाकै लागि तगारो बनिरहेका सिटौलाले महामन्त्रीमा प्रदीप पौडेललाई अघि सार्दा देउवा पक्षका बलिया महामन्त्री उम्मेद्वार निराश देखिए । गृहमन्त्री बालकृष्ण खाण, नेताहरु एनपी सावद, रमेश लेखक लगायतका नेताहरु यसपटक प्रचारमा सीमित महामन्त्री रहे । देउवाका विश्वासपात्र प्रकाशशरण महतले भने महामन्त्रीमै उम्मेद्वारी दर्ता गरेर बाजी मार्दा विश्‍वप्रकाश भने गुटबाटै उछिटि्टए ।

गृहजिल्लाबासी सिटौलाका कारण यसपटक विश्वप्रकाश नराम्ररी चिप्लिए । तीन वर्षपहिले सभापति भएर पनि असक्षम र निरीह साबित भएका देउवाविरुद्ध १० भाई नेता एकजुट भएपछि त्यसलाई फुटाउन विश्वप्रकाश देउवाका लागि कांग्रेस प्रवक्ताको हतियार बनेका थिए । 

तर महाधिवेशन उद्घाटनपश्चात देउवाले विश्वप्रकाशलाई छाडे । कांग्रेस बदल्ने योजना बाँडिरहेका विश्वप्रकाशले उम्मेद्वारी दिन नेतृत्व नै नपाउने भएपछि गुट परिवर्तन गरे । गएको महाधिवेशनमा सिटौला गुटबाट गगन महामन्त्रीको उम्मेद्वार बन्दा यसपटक उनी पूर्ण रुपमा कोइराला गुटमा देखिएका छन् ।

सिटौला गुटबाटै स्वास्थ्यमन्त्रीको अनुभव बटुलेका उनी यसपटक अप्रत्याशित रुपमा आफ्नै गुटका ठानिएका प्रदीप पौडेलसँग चर्को प्रतिष्पर्धा गर्नुपर्ने देखिन्छ । १३ औँ महाधिवेशनले गुटलाई सदाबहार र शक्तिशाली बनाउने देखिएपनि १४ औँ महाधिवेशनमा आउँदा पदका लागि गुटलाई भत्काउने, गुट छाड्ने र नयाँ गुट बनाउने रस्साकस्सी शनिबार उम्मेद्वारी दर्तामा देखियो ।  जुन कांग्रेसीले मात्रै होइन, नजिकबाट कांग्रेस नियाल्ने र टाढैबाट कांग्रेसलाई हेरिरहेकालाई पनि अचम्मित तुल्यायो ।

बनेको गुट भत्किएपछि र आफुले अवसर नपाउने भएपछि विमलेन्द्र निधिले रहर पूरा गर्नैका लागि पनि सभापतिमा उम्मेद्वारी दिएका छन् । कांग्रेसमा संस्थापन इतर पक्षका बलिया नेता महेश आचार्यले भने गुट छाडेर स्वतन्त्र रुपमै उम्मेद्वारी दिएका छन् । यसले कांग्रेसको गुटगत राजनीतिको व्यक्तिगत स्वार्थ सतहमा मात्रै ल्याएको छैन, देशकै जेठो पार्टीभित्र ‘सर्वमान्य’ नेताको खडेरी परेको छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x