विवेकशील साझाका सह-संयोजक रानाभाटले बागमती प्रदेश भंग गर्दै दिए राजीनामा
काठमाडौँ - विवेकशील साझा पार्टीमा रन्जु दर्शनालाई कारबाही गरेपछि, सह-संयोजक सुरेन्द्र बहादुर रानाभाटले पनि बागमती प्रदेश समिति भंग गर्दै राजीनामा दिएका छन्
विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले बागमती प्रदेश संयोजक रन्जु दर्शनालाई कारबाही गरेपछि रानाभाटले पनि राजीनामा दिएका हुन् । पार्टीमा लामो समयदेखि मिश्रले ल्याएको दस्ताबेजमा विवाद चलिरहेको थियो। यही विवादबीच प्रदेश २ का संयोजक अनिमेष कुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय पूर्व संयोजक डा राजेन्द्र पंगेनी, सचिवालय सदस्य प्रतिभा डङ्गोल, केन्द्रीय सदस्यहरू गरी करिब एक सय जना नेता कार्यकर्ताले राजीनामा दिइसकेका छन्।
विवेकशील साझा पार्टीको सबैभन्दा दह्रो संगठन रहेको बागमती प्रदेशमा मिश्रको विचारभन्दा फरक मत राखेपछि बागमती संयोजक रन्जु दर्शनालाई कारबाही गरेर बागमती सह-संयोजक सुरेन्द्र बहादुर रानाभाटलाई प्रदेशको बैठक बोलाएर नयाँ प्रदेश संयोजक चयन गर्न निर्देशन गरेको थियो।
फरक मत राख्ने साथीहरूलाई गलत तरिकाबाट पार्टीबाट निष्कासन गर्ने काम गरेको, प्रदेश समितिसँग संयोजन नगरी प्रदेश समितिमा हस्तक्षेप गरेको, नेताहरूको कार्यमूल्यांकन नगरी आफू खुसी नेताहरू चयन गरेको र पार्टीलाई गलत दिशामा लागेको कारण पार्टीका नेता तथा प्रदेश सह-संयोजक सुरेन्द्र बहादुर रानाभाटले आज पार्टी अध्यक्ष र संयोजकलाई राजीनामा बुझाएका हुन्। साथै, सहसंयोजक रानाभाटले प्रदेश समिति समेत भङ्ग गरेका छन्।
सह-संयोजक रानाभाट पार्टीमा निकै सक्रिय संगठकका रूपमा परिचित छन्। पार्टीमा अधिकांश साथीहरूले मिश्रको साथ छाड्दै गर्दा यो घटनाले रवीन्द्र मिश्र पक्षलाई थप कमजोर बनाएको छ।
विवेकशील साझा पार्टी
बखुण्डोल ललितपुर
अध्यक्षज्यु /संयोजकज्यु
बिषय: राजीनामा सम्बन्धमा
महोदय ,
आदरणीय अध्यक्ष /संयोजकज्यु नमस्कार शुभप्रभात सु-स्वास्थ्यको कामना गर्दछु । हामी वैकल्पिक राजनीतिक यात्रामा लागेको त्यो छेड देखि आजको दिन सम्म आई पुग्दा विभिन्न आरोह अबरोह पार गर्दै गति लिने प्रयासमा लागि रहेको कुराको स्मरण गर्दै पार्टीले विश्वास गरेर दिईएको जिम्मेवारीलाई उत्साहका साथ निर्भाह गर्ने प्रयासमा लागि रहे। सदैब तपाईंहरुको हौसला प्रति नमन ब्यक्त गर्दछु ।
समय पनि कति छिटो बितेछ यो यात्रा पनि ५ बर्ष भएछ । तपाईहरुको अभिभावकत्वले गर्दा होला मलाई भर्खर ५ दिन जस्तो लाग्छ । हामी एउटा लक्ष्यका साथ यो राजनीतिक यात्रामा होमिएका थियौं । त्यो हो जनताको मुहारमा खुशी ल्याउने ।अहिलेको ब्यबस्था भित्रको ब्यथिति बिरुद्ध मोर्चा बन्दी गर्ने अनि एउटा सुन्दर देश ,जहाँ स्वास्थ , शिक्षा , अनि जनताको दैनिक जिवनमा खुशियालि ल्याउने । हामी त्यो सपनाको लागि एकजुट भएका थियौ । दुर्भाग्यवश आज त्यो परिस्थितिको सामना गर्न हामी चुक्यौ कि भन्ने भान मलाई भएको छ। आदरणीय नेताज्युहरु यसैको गांभिरेतालाई मध्ये नजर गरि उक्त कार्य गर्न म पनि असफल भएको म ठान्दछु ।
तसर्थ म अहिले जुन जिम्मेवारीमा छु आजका मिति देखि पुर्ण होस हवासमा कसैको करकाप अनि प्रभावमा नपरि यो राजिनामा तपाईहरु समक्ष दिईएको छु। अवको मेरो यात्रा स्वतन्त्र र सचेत नागरिकको भुमिकामा रहने छु ।सबिनय अनुरोधका साथ धन्यवाद ।
सुरेन्द्र बहादुर रानाभाट
बाग्मति प्रदेश सह-संयोजक
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया