कांग्रेसको कोषाध्यक्षमा कार्की र चौधरीको चर्चा, दुई मन्त्रीको नाम पनि छिट्टै टुंग्याइने
काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रत्यक्षतर्फको मतगणना बिहीबार सकिएको छ । मतगणना सम्पन्न भएसँगै सभापति शेरबहादुर देउवाले भोलि शनिबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
देउवाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बधाई र शुभकामना प्रदान गर्ने साथै राष्ट्रिय सभाको आसन्न निर्वाचन, स्थानीय निर्वाचन लगायतको तयारी र पार्टीको भावी रणनीतिका सम्बन्धमा छलफल गर्न चाहेका छन् ।
यसका अतिरिक्त केन्द्रीय सदस्यमा मनोनित गर्ने तथा कोषाध्यक्ष नियुक्त गरी केन्द्रीय समितिलाई पूर्णता दिनुपर्नेछ । यसबाहेक सभापति देउवाले पार्टीको प्रवक्ता पनि नियुक्त गर्नेछन् । देउवाले एनपी साउद वा रमेश लेखकलाई प्रवक्ता बनाउन चाहेका छन् ।
नेपाली कांग्रेसको कोषाध्यक्षमा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीदेखि विनोद चौधरीसम्मले रुचि देखाएका छन् । देउवाले यसपटक कार्कीलाई पदाधिकारीमा ल्याउन नपाएकोले उनलाई कोषाध्यक्ष बनाउन सक्ने सम्भावना छ । त्यस्तै, केन्द्रीय सदस्य निर्वाचित विनोद चौधरीले पनि मन्त्री वा पार्टीमा कोषाध्यक्षको भूमिका चाहेका छन् । देउवाले आफैंले पत्र लेखेर चौधरीलाई २०७४ मा नेपाली कांग्रेसमा प्रवेश गराएका थिए । उनलाई नेपाली कांग्रेसले गठन गरेको लगानी, पूर्वाधार र रोजगार समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।
अहिले रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठको पनि चाहना छ । उनले विना विभागीय राज्यमन्त्रीको रूपमा खासै कुनै भूमिका नभएकाले मन्त्री नपाए राज्यमन्त्रीबाट राजीनामा दिने संकेत गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारका क्रममा देउवाले बाँकेका गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएका थिए । तर सांसद समेत नरहेका उनको नियुक्ती विवादीत बनेपछि उनले लगत्तै राजीनामा दिए । त्यस्तै, महाधिवेशनमा पराजय व्यहोरेसँगै रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पनि राजीनामा दिएकाले दुईओटा मन्त्रालय मन्त्रीविहीन छन् ।
देउवाले अन्य मन्त्रीको पनि मन्त्रालयको पोर्टफोलियो परिवर्तन गर्न चाहेका छन् । खासगरी अर्थमन्त्री जनार्दन शर्माको कार्यसम्पादनप्रति प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवै रुष्ट रहेका छन् । नेपाली कांग्रेसको भागमा रहेका दुई मन्त्रालय खाली रहेकाले देउवाले एउटा मन्त्रालय महाधिवेशनमा आफूलाई समर्थन गर्ने प्रकाशमान सिंहको सिफारिश अनुसार दिन चाहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया