दल

माओवादी राष्ट्रिय सम्मेलन : महासचिवका लागि लविङ्ग गर्दै पौडेल

इकागज |
पुस ९, २०७८ शुक्रबार १४:४५ बजे

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को रााष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा पार्टीका प्रभावशाली नेताहरुले अध्यक्ष बाहेकका पदमा आउनका लागि सक्रियता बढाएका छन् । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको बताइरहँदा त्यसपछिको शक्तिशाली पद महासचिवमा धेरै नेताहरुले आकांक्षा राखेका छन् । 

यस्तैमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि महासचिव लागि लविङ्ग गरिरहेका छन् । पौडेलनिकट स्रोतका अनुसार महासचिवका लागि उनले लविङ्ग गरिरहेका छन् र त्यसबाट पछि हट्न परे उपाध्यक्षमा दाबी गर्नेछन् ।


‘उहाँको पहिलो दाबी महासचिवमा रहन्छ,’ स्रोतले भन्यो, ‘महासचिव त्याग्नुपरेमा उपाध्यक्षको स्वतः हकदार हौं ।’ पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुचि छ । 

अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेका उनी संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनेका थिए ।  २०७१ मा माओवादीको केन्द्रीय सदस्य, २०७२ मा पोलिटव्यूरो सदस्य हुँदै पौडेल २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बनेका हुन् ।

माओवादी जनयुद्धमा सुरूवाती चरणदेखि सहभागी उनी २०४२ देखि ०४४ सम्म करिब १८ महिना धनगढी जेल बसेका थिए । त्यस्तै ६ महिना सदरखोरमा थुनामा पनि परेका थिए ।

पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमार्फत कार्यकारी अधिकार अध्यक्ष र महासचिवलाई हुने भएकाले नेताहरूको आकर्षण महासचिव पद परेको हो । पार्टीका अन्य नेताले पनि यो पदमा आफ्नो दाबी रहने घोषणा गरिसकेका छन् ।

गत साउनमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवको व्यवस्था गरेको छ । तर, विधानतः कार्यकारी अधिकार भने अध्यक्ष र महासचिवलाई मात्र दिइएको छ ।


Author

थप समाचार
x