दल

पार्टी नेतृत्वमा दाहालको ३२ वर्षे यात्रा : चोइटिँदै-चोइटिँदै माओवादी ७ टुक्रा

विनोद देवकोटा |
पुस १०, २०७८ शनिबार १३:२१ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्‍मेलन भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ । अन्य पार्टीहरूमा जस्तै माओवादीको नेतृत्व को आउला भन्‍ने विषय भने पेचिलो छैन । माओवादीको अध्यक्षका लागि फेरि पनि एक्लो दाबेदार हुन्, पुष्‍पकमल दाहाल । दाहालविरुद्ध अध्यक्षको दाबी गर्ने माओवादीमा अहिले कोही छैनन् । दाहाल उनै हुन् जसले ३२ वर्षदेखि पार्टीको नेतृत्व हाँकिरहेका छन् । 

दाहाल २०४६ सालदेखि नेतृत्वमा छन् । उनी २०४६ सालमा नेकपा (मशाल)को महामन्त्री भएका थिए । २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बने । २०५१ सालमा तत्कालीन नेकपा-एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका दाहाल २०५७ सालमा माओवादी अध्यक्ष बने ।


दाहाललाई अध्यक्ष राखेर एकीकृत नेकपा माओवादी २०६३ चैत २७ गते निर्वाचन आयोगमा दर्ता भयो । त्यसपछि माओवादीले पहिलो पटक हेटौँडामा २०६९ माघ २० देखि २६ गतेसम्म महाधिवेशन गर्‍यो । उक्त महाधिवेशनले पनि दाहाललाई अध्यक्ष घोषणा गर्‍यो । डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपाध्यक्ष बनेका थिए भने पोष्टबहादुर बोगटी महासचिव बनेका थिए ।

त्यसपछि माओवादीले २०७१ साल वैशाख १८ देखि २३ गतेसम्म विराटनगरमा राष्ट्रिय सम्मेलन गर्‍यो । उक्त राष्ट्रिय सम्मेलनले पनि दाहाललाई अध्यक्षमा अनुमोदन गर्‍यो । भट्टराई वरिष्ठ नेता बने भने श्रेष्ठ र बोगटी उपाध्यक्ष भए । कृष्णबहादुर महरालाई महासचिव बनाइयो ।

त्यसयता माओवादीले न महाधिवेशन गरेको छ, न राष्ट्रिय सम्‍मेलन नै । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ४ ले पाँच वर्षमा राजनीतिक दलले निर्वाचन गर्नुपर्ने व्यवस्था रहे पनि माओवादीले कहिले को सँग कहिले को सँग एकता गरेर पार्टीलाई महाधिवेशन टार्दै आयो । 

माओवादी विभाजन यात्रा

माओवादी शान्ति प्रक्रियामा आएपछि ०६९ देखि पार्टी फुट्‍न सुरु भएको हो । हालसम्‍म माओवादी सात टुक्रा भएको छ । मोहन वैद्य समूहको २०६९ असार २ र ३ गते बौद्धमा भेला थियो । भेलाले दाहालले क्रान्तिलाई धोका दिएर दक्षिणपन्थी भासमा परेको निष्कर्ष निकाल्यो । क्रान्तिको उद्देश्य पूरा गर्न  भन्दै वैद्यले ४० प्रतिशत बढी सदस्य लिएर पार्टी फुटाएर नेकपा-माओवादी गठन गरेका थिए ।

वैद्यको पार्टीमा पनि असन्तुष्टि बढ्‍दै गयो । वैद्य यथास्थितिवादी र जडसूत्रवादी भएको आरोप लगाउँदै नेत्रविक्रम चन्दले ०७१ मंसिर १५ गते वैद्यको पार्टीबाट छुटिएर नेकपा माओवादी हाल (नेपाल कम्युनिस्ट पार्टी) गठन गरे । त्यस्तै २०७३ जेठ ६ गते रामबहादुर थापा समूहले पनि वैद्यको पार्टी छाडेर फेरि माओवादीमै फर्किए ।

त्यस्तै डा. बाबुराम भट्टराईले संविधान घोषणालगत्तै २०७२ असोज ९ गते माओवादीबाट अलग भएको घोषणा गरेका थिए । भट्टराईले २०७३ जेठ ३० गते नयाँ शक्ति नेपाल पार्टी गठन गरे । भट्टराईको नयाँ शक्ति पार्टी पनि २०७६ वैशाख २३ गते उपेन्द्र यादवको पार्टी  संघीय समाजवादी फोरमसँग एकता भएर समाजवादी पार्टी नेपाल गठन भयो । 

२०७४ जेठ ३मा माओवादीले नेकपा एमालेसँग पार्टी एकता गर्‍यो । त्यसप्रति असन्तुष्टि जनाउँदै गोपाल किराँती, विश्वभक्त दुलाल र लोकेन्द्र विष्टमगरले माओवादी छाडेका थिए । आपसमा मिलेर प्रदेश र स‌ंघीय निर्वाचन लडे पनि दुइ ठूला कम्युनिष्ट पार्टीबीच एकता सम्भव छैन भन्ने विश्लेषणलाई दाहाल र उनका समकक्षी केपी शर्मा ‌ओलीले पार्टी एकता गरे । एमाले-माओवादीबीचको उक्त एकतापछि  किराँतीले  जेठ ४ गते माओवादी केन्द्र पार्टी पुनर्गठन गरेका थिए । दुलालले बैशाख २२ गते वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

तत्कालीन एमाले र माओवादीबीच भएको एकता सर्वोच्‍च अदालतले २०७७ फागुन २३ गते खारेज गरिदियो । त्यसपछि माओवादी र एमाले अलग-अलग भयो । माओवादीबाट छुटिएर रामबहादुर थापा, लेखराज भट्ट र मणी थापाहरू एमालेमा गएका थिए । एमाले र माओवादी अलग भएपछि किराँतीबाट फुटेर कर्णजित बुढाथोकीले नेकपा माओवादी केन्द्र समाजवादी पार्टी गठन गरेका थिए ।

अहिले नै किन नेतृत्व छाड्‍न चाँहदैनन् दाहाल ?

भोलिदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्‍मेलनपछि पनि माओवादी अध्यक्षमा दाहाल आउने निश्‍चित नै छ । माओवादी अध्यक्षमा कसैको दाबी छैन । माओवादीको विगतका इतिहास हेर्ने हो भने अध्यक्षमा दाबी गर्नेहरू माओवादीमा कोही छैनन् । वैद्य र भट्टराईहरू हुन् अध्यक्षको दाबी गर्ने । तर यी दुवै अहिले फरक पार्टीमा छन् ।

दाहाल सधैँ शक्तिमा रमाउने नेता हुन् । त्यसोत शान्तिप्रक्रियापछि दाहाल दुई पटक प्रधानमन्त्री बने । उनको पार्टी माओवादी प्राय सरकारमा छ । नत्र पार्टी नेतृत्वको ३० वर्षे इतिहासमा किन नेतृत्व हस्तान्तरण गर्न चाँहदैनन् उनी ? यो माओवादीभित्र गम्भीर छलफलको विषय बनेको छ । तर उक्त विषयमा पार्टीमा छलफल चलाउन सक्‍ने आँटका कुनै नेता छैनन् । नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्‍ने विषय उठान गर्ने वैद्य र भट्टराईहरू माओवादीभित्रको चेपुवामा परेर पार्टी छाडिसके ।

२०६४ सालको संविधानसभा निर्वाचनमा देशको पहिलो शक्ति बनेको माओवादी हाल तेस्रो शक्तिमा खुम्‍चिएको छ । पहिलो शक्‍तिबाट तेस्रोमा झरेको माओवादी अध्यक्षबाट अहिले नै विदा हुँदा पार्टी सिद्याएर अध्यक्ष छाड्‍यो भन्‍ने आरोप लाग्‍न सक्‍ने भएकाले पनि दाहाल अहिले नै नेतृत्व हस्तान्तर गर्न चाँहदैनन् । माओवादी नेताहरूमाझ पनि अध्यक्षमा दाहालबाहेक विकल्प खोज्‍ने यो समय उपयुक्त नभएको चर्चा चल्‍ने गरेको छ । 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x