दल

धेरै ‘ब्यागेज’ले थिचिएका प्रचण्ड, क्षतविक्षत माओवादी पार्टी

पहिलोभन्दा दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा प्रचण्डसँग कम ‘ब्यागेज’ थिए, त्यसैले राम्रो काम गर्न सके

पुष्पराज आचार्य |
पुस १०, २०७८ शनिबार १९:२४ बजे

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आइतबारदेखि राजधानीमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । उक्त राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्रकारहरूसँग गफिए । 

उक्त कुराकानीमा उनले सबैभन्दा टड्कारोसँग पार्टीको क्रान्तिकारीता जोगाउने चुनौती रहेको बताए । शुरुवात पनि सोही प्रसंगबाट गरे । अनि राष्ट्रिय सम्मेलनलगत्तै राष्ट्रियस्तरका नेतासमेत कृषक, श्रमिक, मजदूरकहाँ गएर बस्‍ने अनि उत्पादन प्रक्रियामा सामेल हुने बताए । ‘यो भनेको समाजवाद निर्माण गर्ने रणनीति अनुसार काम गर्ने, देशका सबै भूभागमा त्यस्ता भ्रूणहरू तयार हुन् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘हाम्रो गन्तव्य समाजवादमा पुग्नका लागि यो आधार हो ।’ 


केहीबेर समाजवादबारे गफिएपछि प्रचण्डले सेयर बजारबारे प्रसंग निकाले, ‘मैंले त छिटो–छिटो नाफा खोज्ने पुँजीवादी चरित्रले संकट सिर्जना गर्‍यो भनेर अन्तर्राष्ट्रिय प्रवृत्तिबारे चर्चा गरेको थिएँ । यहाँ त मलाई सेयर लगानीकर्ताको विरोधी, बजार सखाप पार्न खोजेको भनेर चित्रित गरियो र मैले विज्ञप्ति निकालेर होइन, म लगानीकर्ताको पक्षमा छु भन्नुपर्ने अवस्था सिर्जना गरियो ।’ 

शुरुमा झण्डै आधा घण्टा मन्तव्य राखेका प्रचण्डले पत्रकारहरूको प्रश्नको उत्तर दिन अर्को आधा घण्टाभन्दा धेरै खर्चिए । मूलतः आफ्ना धेरै ‘ब्यागेज’ (आफै‌ंले सिर्जना गरेका बाध्यता)का कारण प्रचण्डले पूर्णतः द्वुविधै द्वुविधामा देखिन्थे । हुन त बाहिर एउटा र भित्र अर्कोकुरा गर्न माहिर व्यक्ति हुन्, प्रचण्ड । 

शान्ति प्रक्रियामा आएलगत्तै बाहिर पार्टीका मञ्चमा चर्का कुरा गर्ने, कार्यकर्तालाई उत्तेजित पार्ने गरेपछि एकदिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सोधेछन्, ‘के हो प्रचण्डजी, बाहिर निकै चर्का कुरा गर्नुहुन्छ । शान्ति प्रक्रियालाई अघि बढाउन तपाईं जिम्मेवार बन्नुपर्दैन ?’ जवाफमा प्रचण्डले भनेछन्, ‘बाहिर कार्यकर्ता थामथुम गर्न त्यही अनुसार बोल्नुपर्छ गिरिजाबाबु, म हामीले अघि बढाएको यो प्रक्रियाप्रति पूर्ण जिम्मेवार छु ।’ 

माओवादी शान्ति प्रकृयामा आएपछि सरकार बनाउने, गिराउने/ कसलाई बनाउने र कसलाई सिध्याउने भन्ने ब्यागेज प्रचण्डले सधैं बाेकीरहे । क्रान्तिकारिता जोगाउन लागेका प्रचण्ड आफैंले फेरि अवसर मिल्दा कुनै समय दक्षिणपन्थी र लिंग नखुलेको पार्टी भनेर रोष पोख्दै आएको नेकपा एमालेसँग माओवादीको एकता गराए । यसले क्रान्तिलाई अघि बढाउने सम्बन्धमा र माओवादी सशस्त्र संघर्षको औचित्यकै सम्बन्धमा प्रचण्डमा प्रशस्त विरोधाभास देखिन्छ । मुखले जेसुकै भनेपनि सत्ता र शक्ति प्रधान हो अरु कुरा गौण हुन् भन्ने प्रचण्ड खुला राजनीतिमा आएयताको अहिलेसम्मको उनको राजनीतिक यात्राले पुष्टी गर्छ । 

आज प्रचण्डले त्यस्तै कथा सुनाए– जंगलमा एउटा सिंह बच्चादेखि नै भेडाको बथानमा छुटेछ । सँगै घाँस खाएर हुर्कियो । ठूलो भएपछि पनि भेडाकै बथानमा चर्ने, सँगै हिंड्ने । एकदिन एउटा सिंह शिकार गर्न आएछ । भेडाहरू भागे, सँगसँगै त्यो सिंह पनि भेडा जस्तै कराउँदै ‘भ्या–भ्या’ गर्दै भागेछ । अनि शिकार गर्न आएको सिंहले अचम्म मानेर पहिला यो सिंहलाई समात्छु भनेर पक्रेछ । अनि सम्झाएछ– हामी त सिंह हौं नि भनेर सम्झाएछ । तर पनि उसले नबुझेपछि समातेर इनारमा लगेर अनुहार देखाएर भनेछ– हेर, तँ र म उस्तै छौं । हामी सिंह हौं । हामीले शिकार गर्ने हो, घाँस खाने होइन । भेडाको बथानमा बस्ने होइन भनेर सम्झाएपछि उक्त सिंह पनि गर्जिन थालेछ । हामीलाई पनि भेडाहरूको बथानमा भएर भेडाजस्तो भयौं कि भन्ने लागेका छ । तर अब हामी ‘भ्या–भ्या’ गर्दैनौं । गर्जिन्छौं र शिकार गर्छौं । 

माओवादी शान्ति प्रकृयामा आएपछि सरकार बनाउने, गिराउने/ कसलाई बनाउने र कसलाई सिध्याउने भन्ने ब्यागेज प्रचण्डले सधैं बाेकीरहे । 

यो त प्रचण्डको आकांक्षामात्र भयो । तर उनी गर्जिन सम्भव छ त ? कहिलेकाहीं प्रचण्डले आफू पुनः जंगल जान पनि तयार रहेको बताउने गरेका छन् । तर यो सम्भव छ त ? नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिलाई अघि बढाउनुपर्ने हुन्छ । कुनै पनि गतिशील नेताले गर्ने पनि त्यही हो । पुरानै तरिका र शैली ठीक थियो, अब त्यतै फर्किने कि भन्ने विलापको कुनै अर्थ हुँदैन । 

अब न माओवादी, माओवादीजस्तो छ । न प्रचण्ड नै प्रचण्ड जस्ता छन् । अहिले उनीमाथि गठबन्धन टिकाउने ब्यागेज छ, अर्कोतिर एमसीसीसँगको सम्झौतालाई अघि नबढाउने पनि ब्यागेज उनले बोकेका छन् । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले भनेका थिए– ‘तिमीले केही मानिसलाई सधैंका लागि र सबै मानिसलाई केही समयका लागि मूर्ख बनाउन सक्छौं । तर सबैलाई सधैं मूर्ख बनाउन सक्दैनौं ।’ यो नेपाली राजनीतिमा प्रचण्डको हकमा लागू हुन्छ । 

एक समय थियो– सबै नेपालीलाई प्रचण्डले केही समयका लागि मूर्ख बनाए । अनि जब भ्रमको पर्दा उघारियो, प्रचण्डको राजनीति संकुचनतर्फ गयो । पहिलो संविधानसभामा विशाल जनमतसहित आएको माओवादी पार्टी यस्तै अनेकन विभिन्न शक्तिका स्वार्थका ब्यागेज बाेकेकै कारण आफूले प्राप्त गरेको सत्ता आफूले पैरवी गरेको वर्गको हितमा प्रयोग गर्न नपाउँदै ढल्यो । 

तिनताका प्रचण्डलाई रामबहादुर थापा र बाबुराम भट्टराईले खुबै उकासे– ‘प्रधानसेनापति कटुवाललाई कहिले निकाल्ने ? लगत्तै सेवा निवृत्त हुन लागेको नेपाली सेनाको एउटा जर्नेललाई तत्काल निकाल्ने वा ननिकाल्ने कुरा ठूलो थिएन । फगत, थापा र भट्टराईले प्रचण्डको सत्तालाई अप्ठ्यारोमा पारेर आफू छिट्टै प्रधानमन्त्री बन्ने चाहना राखेको कुरा सायद प्रचण्डले बुझेनन् । क्रान्तिकारीताले कहिलेकाहीं जोशमा होस गुमाउँछ । तिल पनि पहाड बनिदिन्छ । 

यस्ता ‘ब्यागेज’हरूले थिचिएका प्रचण्डले आफूले चाहेको काम गर्न पनि दोस्रो पटक प्रधानमन्त्री हुने अवसर कुर्नुपर्‍यो । उनले आज आफ्नो प्रधानमन्त्रीको दास्रो कार्यकालमा निकै सुधारका काम गरेको बताए । लोडसेडिङ्ग अन्त्य, भ्रष्टाचार नियन्त्रण, वैदेशिक रोजगारका समस्या समाधान तथा कामदारको बीमा कभरेज वृद्धि, संविधान र संघीयता कार्यान्वयनको पहिलो खुड्कीलो उनैले शुरु गरेका थिए । स्थानीय निकायमा वित्तीय हस्तान्तरण शुरु भयो । जसलाई माओवादीले ‘गाउँ–गाउँमा सिंहदरबार पुगेको’ व्याख्या गरेको थियो । त्यस्तै, निर्वाचनपछि सञ्चालनमा आउनेगरी प्रदेशका संरचना शुरु गरिए । यी कामका लागि प्रचण्डलाई धन्यवाद दिन कञ्जुसी गर्नु हुँदैन । किनकी उनी पहिलो कार्यकालमा एक क्रान्तिकारी नेताको रूपमा जति ब्यागेज बोकेर आएका थिए, चार महिनापछि सेवा निवृत्त हुने जर्नेलसँग पनि सम्झौता गर्‍यो भन्ने भाष्य निर्माण हुनु नै पनि उनको क्रान्तिकारीतामा दाग लाग्ने सायद उनी सोच्थे ।

नेपाली सेनाको नेतृत्वको निरन्तरतामा हस्तक्षेप वा उनकै शब्दमा ‘क्रमभंगता’ गर्न नसकेपछि उनी संकटमा परेका थिए । परेका थिए भन्दा पनि त्यो संकट उनले आफैंले निम्त्याएका थिए । प्रचण्डले विरोधाभाषपूर्ण ब्यागेजहरू एकसाथ बोकेर विचलनतर्फ नलम्कून् भन्ने उनका शुभेच्छुकले पक्कै चाहान्छन् । त्यसो गरिरहे भने उनले भुइँको टिप्न खोज्दा पोल्टाको पनि गुमाउनेछन् । 

पहिलो कार्यकाल प्रधानमन्त्री हुँदा भन्दा दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा प्रचण्डसँग ‘ब्यागेज’ कम थिए । साथै, उनले तुलनात्मक रूपमा राम्रो काम गर्न सके । 

प्रचण्डलाई कतिपयले अस्थिर भन्छन् । कतिपयले उनी अस्थिर होइनन्, परिस्थितिलाई हुँडलेर अर्थात् उनका राजनीतिक प्रतिद्वन्द्वी र कुनै समयमा साथी केपी शर्मा ओलीका शब्दमा ‘प्रचण्ड आफ्नो स्पेस बनाउन कुनै पनि बनिबनाउ र राम्रो कुरालाई पनि भत्काएर, कच्याककुचुक पारेर’ त्यो अस्थिरतामा खेल्ने नेता हुन् ।

प्रचण्डले आज मुलुकका लागि आसन्न संकट, पुँजीवादले सिर्जना गरेका विकृति, जलवायु परिवर्तनको आसन्न चुनौतीका बारेमा व्याख्या गरे । यससँगै उनले राष्ट्रिय सम्मेलनमा यी विषयमा नयाँ विचार बनाउने बताए । अघिल्लो राष्ट्रिय सम्मेलनमा अघि बढाउने भनिएको प्रचण्डपथलाई वामपन्थी विचारधाराका दलहरूसँग एकता गर्नका लागि स्थगन गरेको भने । उनले नेकपा एकीकृत समाजवादी तथा बाबुराम भट्टराई र संसदमा प्रतिनिधित्व नभएका अन्य दलहरूसँग एकता गर्न खुला रहेको पनि बताए । तर लगत्तै फेरि बाबुराम भट्टराईलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताका विषयमा निशाना साँध्दै ‘शेरबहादुर देउवाभन्दा पनि हर्ताकर्ता भएर आफूले नै अग्रसरता लिएकाले एमसीसीसँगको सम्झौता पारित हुनुपर्छ भनेर बाबुराम भट्टराईले भनेको सुन्दा अचम्मित भएको’ पनि उल्लेख गरे ।

एकैछिन अघि बाबुरामसँग विचार मिल्छ, हामी गठबन्धनमै छौं । एकता हुनसक्छ भनेका प्रचण्ड एमसीसीसँगको सम्झौतामा उनको आफ्नै ब्यागेजका कारण भट्टराईप्रति न्यूनतम मर्यादा राखिरहन पनि आवश्यक ठानेनन् । बाबुराम भट्टराईलाई गाली गरिसकेपछि उनी सम्हालिएर भने, ‘हुन त यो बाबुरामजीको विचार हो ।’ तर फेरि अंकुश राखिहाले ‘बाबुरामजी पार्टीमा नभए पनि हामी यस सम्झौताका विषयमा छलफल त गर्दै आएका छौं । पहिला संशोधन सहित अनुमोदन गर्नुपर्छ भन्ने मान्छे एकाएक परिवर्तन भएको र आफैं सर्वेसर्वा जसरी प्रस्तुत भएपनि उनलाई प्रधानमन्त्री त मैले नै प्रस्ताव गरेको थिएँ ।’

देशको अर्थनीतिका सम्बन्धमा पनि प्रचण्डको टिप्पणी सुन्न लायकको थियो, ‘सन् १९९० पछि अब पुँजीवादको विकल्प छैन भनेर जसरी विकसित पुँजीवादी देशहरूले भने सोभियत संघ र अन्य साम्यवादी देशको विघटनपछि विश्व नै एक ध्रुवमा पुँजीवादको एकोहोरो प्रभुत्वमा अघि बढ्यो । हामीजस्ता तेश्रो विश्वका मुलुकमा तिनले नीतिगत प्रेस्क्रिप्सन दिए । तर २००८ मा त्यत्रो वित्तीय संकट आइलाग्यो । यसले अमेरिकाले नै निजी कम्पनीहरूलाई पुँजी लगानी गरेर बचाउनुपर्ने स्थिति आयो भनेपछि कहाँ टिक्यो त पुँजीवादी सर्वसत्तावाद ?’

प्रचण्डको उक्त व्याख्यापछि मैले उनलाई प्रश्न सोधें, राम्रोसँग प्रयोग गर्दा मिश्रित मोडलले पनि राम्रो काम गर्छन् । सबै व्यवस्थामा आ–आफ्ना खराबी छन् । हामीले राम्रो पक्षहरूलाई टिप्न सक्छौं । त्यो गरेका पनि छौं । अमेरिकामा राजनीतिक व्यवस्था बहुलवादी र प्रजातान्त्रिक छ । त्यहाँ शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका हिसाबले उन्नत समाजवादी व्यवस्था छ । अनि चीनमा राजनीतिक व्यवस्था साम्यवादी भएपनि बजारमा पुँजीवादी व्यवस्था छ । त्यस्तै, निर्वाचन प्रणालीमै पनि हामीले मिश्रित अभ्यास गरेका छौं– प्रत्यक्ष र समानुपातिक । यहाँले यस्तो मिश्रित व्यवस्थालाई ऊँट जस्तो भयो भनेर पनि भन्नुहुन्छ, हामी जस्तो भूराजनीतिमा अर्थव्यवस्थामा पूर्ण रूपमा समाजवादी वा पुँजीवादी व्यवस्था भनेर किन भनिरहन पर्‍यो मिश्रित भनौं न ।’ 

उनले यसको उही गोलमटोल उत्तर दिए । फेरि पुँजीवादको प्रभुत्व र एकाधिकारको कुरा गरे । अहिले विश्व एक ध्रुवीय (युनिपोलार)बाट बहुध्रुवीय (मल्टिपोलार) भएको र नयाँ शक्तिहरूको उदय भएकाले अब पुँजीवादको पिछलग्गू भएर नाफामा आधारित अर्थव्यवस्थालाई मात्र प्रवर्धन गरिरहन आवश्यक नभएको र आफू नवउदारवादको विरोधी भएको उनले बताए । 

प्रचण्ड प्रधानमन्त्रीको रूपमा पहिलोपटक चीन जाँदा त्यहाँ उनले हामीले चिनियाँ मोडलको राज्यको भूमिका प्रधान रहेको अर्थव्यवस्था निर्माण गर्न चाहेका छौं भन्दै पुँजीवादी व्यवस्थाको विरोध गरे । त्यहाँ चिनियाँ प्रधानमन्त्रीले हाम्रो अर्थतन्त्र सबल हुनुमा हामी हाम्रो बजार व्यवस्था र यसमा संलग्नहरूलाई धन्यवाद दिन्छौं भन्दै अप्रत्यक्ष ढंगले पुँजीवादी बजार व्यवस्थाको बचाउ गरेका थिए । 

पहिलो कार्यकाल प्रधानमन्त्री हुँदा भन्दा दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा प्रचण्डसँग ‘ब्यागेज’ कम थिए । साथै, उनले तुलनात्मक रूपमा राम्रो काम गर्न सके । 

प्रचण्डको अर्को ब्यागेज हो आफू पार्टीको नेतृत्वमा भइराख्नुपर्ने बाध्यता । यसपटक उनी नै माओवादीको सर्वस्वीकार्य अध्यक्ष हुन् भनेर त्यसभन्दा तलका नेताले भनिसके । प्रतिस्पर्धा भएपनि तल्लो तहमा हुनसक्छ । प्रचण्डले कम्युनिष्ट पार्टीमा बुर्जुवाले जस्तो जसरी पनि चुनाव जित्ने भन्ने नहुने बताए । ‘हामी जनवादको अभ्यासमार्फत् अर्थात् जनवादी केन्द्रीयतामार्फत् नेतृत्व चयन हुन्छ ।’ 

नेतृत्वसँग आन्दोलन, विचार र जनमत जोडिएन भने कतिपय पार्टीको नेतृत्वमा पुगे पनि ती नेताजस्तो नलाग्ने बताए । ‘महात्मा गान्धी कहिले पार्टीको अध्यक्ष भएनन्, तर आन्दोलनको अनुहार उनै थिए । अनि चीनमा देङ साओ पिङसँग त्यस्तै छवि जोडिन्छ । आन्दोलन, विचार र जनमतविना नेतृत्व हुनसक्दैन ।’

राष्ट्रिय सम्मेलनमार्फत् माओवादीलाई जीवन्त बनाउने र आफ्नो पार्टीमा आफूमात्र होइन, अहिले पहिलो र्‍यांक (श्रेणी) मा रहेका कुनै पनि नेता नभएपनि माओवादीले नेपाली समाजको सशक्तीकरण, राजतन्त्रको अन्त्य, उन्नत लोकतन्त्र, संविधानसभामार्फत् संविधान दिन प्रमुख भूमिकाका कारण माओवादी जीवन्त रहीराख्ने गौरवका साथ सुनाए । तर व्यवहारमा त माओवादी क्षतविक्षत छ । सशस्त्र संघर्ष र ०६२/६३ को आन्दोलनबाट उदाएको ठूलो राजनीतिक शक्ति आज सात टुक्रामा विभाजन भएर क्षतविक्षत एवं कमजोर भैसकेको छ । 

प्रचण्डले यी सबै द्वुविधा र ब्यागेज छाडेर जुन दिनदेखि साँच्चै जनताका लागि काम गर्न सुरु गर्छन्, त्यसले माओवादीमा नयाँ रक्तसञ्चार गर्ला कि अन्यथा माओवादी गर्जिने र शिकार गर्ने अवस्थामा फर्कन निकै गाह्रो छ । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x