दल

माओवादी महाधिवेशन

पार्टी छाडेका ७ नेताको एउटै स्वर : माओवादी अब सुध्रिन्‍न !

अन्तमा हात्ती आयो हात्ती आयो फुस्सा

विनोद देवकोटा |
पुस ११, २०७८ आइतबार १२:४७ बजे

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनलले केन्द्रीय अध्यक्षबाहेकका पदाधिकारी चयन पनि गर्नेछ । केन्‍द्रीय समिति निर्वाचित गर्नेछ । पार्टीको विचारधारा, राजनीतिक कार्यदिशासमेत सम्मेलनले प्रष्ट पार्नेछ । सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने माओवादी नेताहरूले बताउँदै आएका छन् । सम्मेलनले नयाँ क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने उनीहरूको विश्वास छ । सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले समाजवादमा पुग्ने खाकासहितको राजनीतिक दस्तावेज पेश गर्दैछन् । 

माओवादीले काठमाडौँमा राष्ट्रिय सम्मेलन गरिरहँदा लामो समय पार्टी निर्माणमा योगदान गरेकाहरू छिन्नभिन्न छन् । माओवादी बनाउन लामो समय योगदान गरेका मोहन वैद्य, डा. बाबुराम भट्टराइ, रामबहादुर थापा, नेत्रविक्रम चन्द, लेखराज भट्ट, गोपाल किरातीलगायत दर्जनौँ नेताहरू माओवादी त्यागेर छिन्नभिन्न छन् । माओवादीबाहिर रहेका यस्ता नेताहरूको सूची लामो छ ।


रामबहादर थापा र लेखराज भट्टहरू एमालेमा छन् । डा. बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनबाटै बाहिर पुगे । उनी जसपामा छन् । मोहन वैद्य र नेत्रविक्रम चन्दहरूका आ–आफ्नै पार्टी छन् । त्यसबाहेकका नेताहरू पनि विभिन्न दल र समूहमा आबद्ध छन् । उनीहरू माओवादी कस्तो होस् भन्ने चाहन्छन् त ? अधिकांश माओवादी रूपान्तरण हुनेमा आशंका व्यक्त गर्छन् । सम्मेलनमा विचारको बहस हुन नसकेको तर्क गर्छन् । 

कतिपयमा झिनो अपेक्षा पनि छ। नेकपा (क्रान्तिकारी माओवादीका महासचिव) मोहन वैद्य माओवादीको राष्ट्रिय सम्मेलनमा नयाँ केही हुनेमा विश्वस्त छैनन् । उनलाई कुनै आसा पनि छैन । संसद्‍वादलाई अबलम्बन गर्ने माओवादीले सम्मेलनमार्फत अलिकति भ्रम छरेर आगामी चुनावको तयारी गर्न खोजेको उनको तर्क छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई माओवादी राष्ट्रिय सम्मेलनमा विचारको बहस नभएको बताउँछन् । माओवादी आन्दोलनको उपलब्धीलाई जोगाएर अगाडि जानुको विकल्प नभएको उनको भनाइ छ ।  महाधिवेशन प्रतिनिधिहरूले यसबारे गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै एमाले नेता लेखराज भट्ट पार्टी रूपान्तरण गर्ने, क्रान्तिकारी बनाउने, व्यवस्थित गर्ने भने पनि व्यवहारमा हुन नसकेको बताए । उनलाई अहिले पनि माओवादी केन्द्र व्यवस्थित र रूपान्तरण हनुेमा आशंका छ ।

नेकपा महासचिव नेत्रविक्रम चन्दको पनि कुनै अपेक्षा छैन । माओवादी रूपान्तरण हुने सम्भावना पनि कम देख्छन् । उनी माओवादी सम्मेलनबारे खासै प्रतिक्रिया जनाउन पनि आवश्यक ठान्दैनन् । नेकपा (माओवादी केन्द्र क्रान्तिकारी) का अध्यक्ष गोपाल किराती माओवादको सिद्धान्त र माओवादी केन्द्र विघटन गरेर एमालेसँग एकता गरेको र अहिले अदालतका कारण माओवादी केन्द्रको सम्मेलन गर्नुपर्ने बाध्यतामा परेकोमा सार्वजनिक आत्मालोचना गर्नुपर्ने बताउँछन् । विश्वभक्त दुलाल माओवादी सम्मेलनबाट कुनै क्रान्तिकारी अपेक्षा गर्न नसकिने बताउँछन् । क्रान्तिकारी पार्टी बनाउँछौँ भनेर गफ दिएर मात्रै नहुने उनको तर्क छ । राजनीति त्यागेर कृषिमा लागेका पूर्व माओवादी नेता लोकेन्द्र विष्ट माओवादीले मिठा कुरा धेरै पटक गरे पनि अन्ततः हात्ती आयो हात्ती आयो फुस्सा हुने तर्क गर्छन् । यसपालि पनि त्यस्तै हुने उनको दाबी छ । 

क्रान्तिकारी पार्टी बनाउन त क्रान्तिकारी लाइन लिनुपर्‍यो नि : मोहन वैद्य

माओवादीको सम्मेलनबाट नयाँ केही कुरा हुँदैन ।  नयाँ त के हुने हो र ? वैचारिकरूपमा माओवादीले सबै छोडिसक्यो । यही संसद्‍वादी संविधानको रक्षा गर्ने माओवादीको मूल लाइन हो । हामी नयाँ छौँ, नयाँ गरेर लैजान्छौँ भन्ने हो-हल्ला गर्ने काम भएको छ । सारमा के हो भने संसद्‍वादलाई अवलम्बन गर्ने अलिकति भ्रम दिने, अनि आगामी चुनावमा तयारी गर्ने हो । नयाँ कुरा केही छैन । धेरै अपेक्षा केही छैन । गर्न सकिँदैन । संसद्‍वाद र संविधानको संरक्षण गर्ने हो । नयाँ क्रान्तिकारी पार्टी बनाउँछौँ भनेर भएन । क्रान्तिकारी पार्टी बनाउन त क्रान्तिकारी लाइन लिनुपर्‍यो नि । पुरानो राज्य सत्ता र संविधानलाई स्वीकार गर्ने, अनि नयाँ पार्टी बन्छ त ? नयाँ बन्ने कुनै सम्भावना छैन । 

माओवादले हिजो काम गरेको थियो भनेर अब फेरि ‘बाजेले घ्यू खाएथे मेरो हात सुघ’ भनेजस्तो हुँदैन: बाबुराम

माओवादी एउटा आन्दोलन थियो । आन्दोलनलाई हामी सबैले लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍यायौँ । नेपाली जनतालाई सार्वभौम बनाएर संविधान जारी गर्‍यौँ  । त्यो एउटा मौलिक र ऐतिहासिक थियो । त्यसमा सबैको योगदान छ र गर्व छ । अब अर्को चरण सुरु भयो त्यसैले समयानुसार विचार, नीति, कार्यक्रम, योजना संगठन, नेतृत्व परिवर्तित र परिमार्जन हुँदै जानुपर्छ । पूराना साथीहरूलाई पुरानै ढंगले अल्झाइरहनु भएको छ । त्यसले उहाँलाई कही पुर्‍यायौँ । माओवादी आन्दोलनको उपलब्धीलाई जोगाएर नेपाललाई समृद्धि हुँदै समाजवादको दिशामा लाने हो भने त्योभन्दा अगाडि जानुको विकल्प छैन । अधिवेशनमा भएका साथीहरूले गम्भीरतापूर्वक पुनर्विचार गर्दा राम्रो हुन्छ । माओवादले हिजो काम गरेको थियो भनेर अब फेरि ‘बाजेले घ्यू खाएथे मेरो हात सुघ’ भनेजस्तो हुँदैन । बसिबियालोले जनतालाई भ्रम मात्रै छर्छ । कही पनि पुग्नुहुन्न । महाधिवेशनमा साथीहरुले गम्भीर प्रश्न गर्नुपर्छ । त्योभन्दा बढी अपेक्षा गदिँनँ । 

अहिले पनि माओवादी केन्द्र व्यवस्थित हुँदैन, रूपान्तरण हुँदैन: लेखराज भट्ट

उहाँ(प्रचण्ड)मा जो ऊर्जा र गति थियो । जुन सन्देश दिनसक्नुहुन्थ्यो । त्यो पछिल्लो चरणमा मैले देख्दिनँ । प्रक्रियामा आएपछि उहाँले जे भन्दै आउनुभएको छ, पार्टी रूपान्तरण गर्ने, क्रान्तिकारी बनाउने, व्यवस्थित गर्ने, तर, त्यो भनाइमा मात्रै छ व्यवहारमा छैन । जुन कुरा व्यवहारमा हुँदैन त्यो जतिसुकै भने पनि मान्य हुँदैन ।अर्थ राख्दैन । मलाई लाग्छ अहिले पनि माओवादी केन्द्र व्यवस्थित हुँदैन, रूपान्तरण हुँदैन ।

माओवादी रूपान्तरण हुने र क्रान्तिकारी पार्टी बन्ने सम्भावना कम छ । रूपान्तरण होस् भन्ने कामना छ : चन्द

माओवादीको राष्ट्रिय सम्मेलनबारे खासै प्रतिक्रिया दिन आवश्यक छैन । माओवादी रूपान्तरण हुने र क्रान्तिकारी पार्टी बन्ने सम्भावना कम छ । रूपान्तरण होस् भन्ने कामना छ । यत्रो आन्दोलनलाई धोका दिएर गएको पङ्ती हो त्यो । शहिदहरूका सपनालाई लत्याएर र कम्युनिष्ट आन्दोलनलाई नालीमा धकेलेर गएको पङ्ती हो । हामीले त्यहाँबाट धौधौ उठाएका छौ । अझै धेरै जटिलता छन् । 

माओवाद लत्याएर र माओवादी केन्द्र विघटन गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ : गोपाल किराती

माओवादीको राष्ट्रिय सम्मेलनले चार काम गर्नुपर्छ । माओवादीले माओवाद र माओवादी केन्द्र विघटन गरेर, त्यागेर, लत्याएर हिँडेको हो । तर, अहिले अदालतको कारण माओवादी केन्द्रलाई राष्ट्रिय सम्मेलन गर्नुपरेको छ । यसो गरेकोमा सार्वजनिक आत्मालोचना गर्नुपर्छ । दोस्रो सर्वहारा सांस्कृति रूपान्तरणको सामूहिक प्रतिबद्धता गर्नुपर्छ । जुन समाजवाद भनिराख्नु भएको छ त्यसको स्पष्ट कार्यक्रम बनाएर अघि बढ्नुपर्छ । अमूर्त समाजवादको नारा त २०१२ मै लागेको थियो । त्यसो हुँदा त्यसलाई ठोस गर्नुपर्छ । स्पष्ट कार्यक्रम बनाउनुपर्छ । चौथो कुरा सम्मेलनले देशद्रोही एमसीसी खारेज गर्नुपर्छ । किनभने एमसीसी सम्झौता भनेको दोस्रो र अन्तिम सुघौली सन्धि हो । पहिलो सुगौली सन्धिले आधा नेपाल खाइदियो । यो दोस्रो र अन्तिम सुगौली सन्धिले पूरै नेपाल खाँदै छ । 

माओवादीमा विचार शून्यता छ, एमाले र कांग्रेस जत्तिको पनि बहस छैन : आहुति 

माओवादीको राष्ट्रिय सम्मेलनबाट कुनै क्रान्तिकारी अपेक्षा गर्न सकिँदैन । संसदीय पार्टी बनेकै छ । त्यो पनि कमजोर अवस्थामा छ । क्रान्तिकारी पार्टी बनाउँछौँ भनेर सबैले भन्छन् । नयाँ विचार ल्याउने, नयाँ क्रान्ति गर्नेहरूले एक व्यक्तिले दस्तावेज लेख्न थाल्छ कि व्यापक बहस सिर्जना गर्छ ? सम्मेलनको मुखमा कतै बहस छ ? कुनै जुधान हुनुपर्ने होला नि फरक–फरक मतबीचमा ? एउटा मान्छेले सबै समेटेर दस्तावेज ल्याउँछ अनि त्यो क्रान्तिकारी विचार हुन्छ त ? 

यति धेरै फुट, सर्वनास र संसदीय पार्टीसमेत बन्न नसक्या बेला एमालेसँग एकता गरेर पार लाग्छु भनेर भयो । त्यहाँबाट पनि घाइते भएर फर्कियो । यस्तो भयानक जटिलताबीचमा पार्टीमा कुनै गम्भीर बहस छैन । विचार शून्यता छ । एमाले र कांग्रेसमा जत्तिको पनि बहस छैन । 

शन्ति प्रक्रियामा आएदेखिएको समीक्षा हुनुपर्‍यो। पार्टी टुक्रा-टुक्रा भएको छ । त्यो स्वीकार गर्नुपर्‍यो । प्रचण्डले सबै ठीक छ । अरुले बिगारेको भन्छन् । गल्ती सबै अरुको छ म ठीक मान्छे हो भन्छन् । कसरी क्रान्तिकारी पार्टी हुन्छ ? विचार र नेतृत्व दुवैमा समस्या छ । 

मीठा कुरा धेरै पटक आउँछन्, अन्तमा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुन्छ : लोकेन्द्र विष्ट

कुरो त मीठो छ । माओवादीमा यस्ता मीठा कुरा धेरै पटक आउँछन् । तर, अन्तमा गएर फेरि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुन्छ । यसपालि पनि फुस्सा नै हुन्छ । त्यो पार्टीको नेतृत्व पङ्ती सबैलाई मैले राम्रोसँग चिन्छु । राम्रो बनोस् । म गलत साबित हुनुपरोस् भन्छु । तर, उनीहरू आफ्नो घेराभित्रको सही होइन राष्ट्र र जनताको लागि क्रान्तिको लागि सही हुनुपर्‍यो । अहिले जे भनिरहेका छन्, त्योअनुसार भए त राम्रो हो । तर, धेरै पटकका यस्ता वार्ता र प्रचार भए । दस्ताबेज थुप्रो लेखिए । नभएको हुनाले मलाई विश्वास छैन । माओवादी विचार राजनीति धेरै टाढा गइसक्यो ।

पार्टी नेतृत्वमा दाहालको ३२ वर्षे यात्रा : चोइटिँदै-चोइटिँदै माओवादी ७ टुक्रा

माओवादी राष्ट्रिय सम्मेलन : नीतिमा बहस, नेतृत्वमा नाइँ-नास्ति


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x