दल

राष्ट्रिय सभा निर्वाचनः कुन प्रदेशमा कसका उम्मेदवार ?

इकागज |
पुस १९, २०७८ सोमबार १३:५० बजे

काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेकोे सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा साझा उम्मेद्वार उठाउने निर्णय गरेको हो । 

बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ । 


कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर काकीले प्रदेश १ मा खाली तीन सिट मध्ये महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ कांग्रेस र अल्पसंख्यकमा जसपा, प्रदेश नम्बर २ मा महिलातर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट छुट्याइएको जानकारी दिए । 

त्यस्तै बागमती प्रदेशमा अन्यतर्फ कांग्रेस, महिलातर्फ समाजवादी, गण्डकी प्रदेशमा महिला कांग्रेस, अन्य र दलितमा माओवादी, लुम्बिनी प्रदेशमा पुरुषतर्फ कांग्रेस, महिलामा समाजवादी र दलितमा राष्ट्रिय जनमोर्चालाई सिट छुट्याउने सहमति भएको छ । 

त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ कांग्रेस, अपा‌ंगतर्फ माओवादी र खुलामा समाजवादी तथा सुदूरपश्चिम प्रदेशमा खुलामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीलाई दिने निर्णय भएको कार्कीले जानकारी दिए । 

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ । 


Author

थप समाचार
x