दल

एमालेले पनि टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि १९ उम्मेदवार (सूचीसहित)

इकागज |
पुस १९, २०७८ सोमबार १६:४० बजे

काठमाडाैँ - नेकपा एमालेले पनि राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ। सोमबार लालितपुरकाे तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो । 

एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ ।


त्यस्तै बागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई एमालेले उम्मेदवार बनाएको हाे ।  त्यसैगरी गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई एमालले उम्मेदवार बनाएको छ ।  

त्यस्तै लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, जमुना थापा र चूडामणि शर्मालाई एमालले उम्मेदवार बनाएको हाे ।

त्यसैगरी सुदुरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको बैठकमा सहभागी एक नेताले बताए । राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ ।

त्यस्तै यसअघि नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको थियाे । आज बसेको कांग्रेस पदाधिकारी बैठकले  गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियाे । माघ १२ मा हुने राष्ट्रिसभाको चुनावमा एमालेले आफ्नो पुरानो ८ सीट जोगाउनुपर्ने चुनौती छ ।


Author

थप समाचार
x