दल

सभामुखले गरिमा नराख्दा संसद् अवरुद्ध भएको हो : एमाले उपमहासचिव गुरुङ

बाबुराम भण्डारी |
पुस १९, २०७८ सोमबार २०:३९ बजे

विराटनगर - नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सभामुखले संसद्को गरिमा राख्न नसक्दा प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको बताएका छन् ।सोमबार विराटनगरमा प्रेस चौतारी मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै गुरुङले सरकार नै सबैकुरा अवरुद्ध गर्ने गरी आएकोले सभामुख पनि त्यसैको मतियार बनेको आरोप लगाए।

उनले सभामुखबाट पदीय मर्यादा कायम नभएकोले त्यसको ‘करेक्सन’ नहुन्जेलसम्म संसद् अवरुद्ध हुने चेतावनी दिए । 'सभामुखबाट पार्टीको कार्यकर्ताजस्तो व्यवहार भएको छ, पदीय मर्यादा कायम नगरेकोले करेक्सन नगरेसम्म संसद् अवरुद्ध हुन्छ’ गुरुङले भने, ‘पार्टीको कार्यकर्ता जस्तो काम गरेर, आफ्नो पार्टीलाई फाइदा हुँदा २४ घण्टाभित्र सूचना जारी गर्ने र निलम्बन भएको सूचना दिएर बैधता दिने अनि आफ्नो पार्टीको सरकार विरुद्धमा भएको चैं झुण्ड्याएको झुण्ड्यायै गरेर सूचना जारी नगर्ने अवस्था देखियो ।’


सभामुखले पदीय मर्यादा विपरीत काम गरेको भन्दै त्यो मर्यादालाई करेक्सन गर्नका लागि एमालेले समय दिँदै आएको र लामो समयसम्मका लागि भएपनि एमालेलाई त्यसलाई जारी राख्ने गुरुङले बताए । उनले राष्ट्रियसभा निर्वाचनमा एमाले एक्लै लड्ने र प्रदेश १ मा एमालेले नै जित्ने बताए । जित्नका लागि माओवादी केन्द्रबाटै मत प्राप्त हुने सम्भावना रहेको उनले दाबी गरे । अन्य प्रदेशहरुको हकमा विभिन्न पार्टीहरुसँग मोर्चाबन्दी गरेर मिलेर लड्ने उनले जानकारी दिए ।

एमसीसीका विषयमा प्रतिक्रिया दिँदै गुरुङले आवश्यकताभन्दा बढी ढोल पिटाइरहेको टिप्पणी गरे । उनले एमसीसी के का लागि भन्नेमै स्पष्ट हुन नसकेको भन्दै उनले एमसीसीबाट आउने करिब ५५/५६ अर्ब नहुँदा मुलुकको सवै विकास अवरुद्ध हुन्छ जस्तो गरी प्रचार भइरहेको बताए । ‘एमाले एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा छैन, एमसीसी बिना मुलुक डुब्छ भन्ने पक्षमा छैन’ उनले भने, ‘यो प्रतिगामी गठबन्धनलाई केन्द्रित भएर आइरहेको छ, उनीहरुले नै पास गर्न खोज्लान् ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x