दल

एसपी पाण्डेलाई फौजदारी अभियोगमा कारबाही गर्न कांग्रेसको माग

इकागज |
पुस २०, २०७८ मंगलबार १३:४३ बजे

सिरहा-  नेपाली कांग्रेस सिरहाले जिल्ला प्रहरी कार्यालय सिरहाका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको धनगढीमाई नगरपालिका–९ जिरोमाईलस्थित घरमै आइतबार मध्यराति पुगेर एसपी पाण्डेले अमर्यादित गालीगलैज गर्दै गोली प्रहार गरी हत्या गर्ने धम्की दिएको भन्दै उनलाई कारबाही गर्न कांग्रेसले माग गरेको हो । 


जिल्ला कार्यसमितिका सभापति रामचन्द्र यादव र सचिव उपेन्द्रकुमार यादवको संयु्क्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा एसपी पाण्डेले सभापति यादवलाई ‘तिमीले मलाई सरुवा गरायौ, म तिमीलाई गोली ठोकेर मारिदिन्छु’ भन्दै पटकपटक पेस्तोल तेर्साएको उल्लेख गरिएको छ । 

मादक पदार्थसमेत सेवन गरेर ज्यान मार्ने धम्की दिएका एसपी पाण्डेलाई प्रहरीहरूले गाडीमा हालेर लगेको विज्ञप्तिमा उल्लेख छ । 

प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डेले अभियुक्तलाई समातेपछि यादवले छोड्न आफूलाई दबाब दिएको बताए । तर,  आफ्नो सरुवाको विषयलाई लिएर आफू यादवको घरमा नपुगेको एसपी पाण्डेको भनाइ छ ।  

सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले भने एसपी पाण्डे गस्तीमा गएको र अरु कुरा आफूलाई थाहा नभएको बताए । प्रहरी प्रधान कार्यालयलबाट ६ महिना अघिमात्रै एसपी पाण्डे सिरहा आएका थिए । उललाई फेरि उतै पठाएको र उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । 
 


Author

थप समाचार
x