दल

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा चार दलका ५ जनाले दिए उम्मेदवारी

सुभाष कर्ण |
पुस २०, २०७८ मंगलबार १७:१८ बजे

जनकपुरधाम - आगामी माघ २२ गते हुने राष्ट्रियसभा सदस्यको दुई पदका लागि निर्वाचनका लागि प्रदेश २ मा चार दलका ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपा १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट एक र एमालेबाट २ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय स्थित राष्ट्रिय सभा निर्वाचन आयोगको कार्यालयमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला समूहमा दर्ता गराएकी छिन भने सत्तारुढकै जनता समाजवादी पार्टीबाट पुरुष खुल्ला समूहतर्फ सिरहाका मो. खालिद सिद्दकीले उम्मेदवारी दर्ता गराएका छन् ।


पर्साकी वीरगंज महानगरपालिका निवासी अर्यालको प्रस्तावक नगिना यादव रहेकी छिन् भने सीता साह समर्थक रहेकी छिन् । त्यस्तै लोसपाबाट महोत्तरीकी महिला समूहतर्फ रूपा यादवले उमेदवारी दर्ता गराएका छन् । यादवको प्रस्तावक प्रदेशसभा सदस्य रानी शर्मा तिवारी र समर्थक परमेश्वर साह रहेका छन् भने सरदारको प्रस्तावक प्रदेशसभा सदस्य अभिराम शर्मा समर्थक गौरीनारायण साह रहेका छन् ।

एमालेको तर्फबाट महिला समूहमा बिना देवी साह र खुल्ला समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन् । त्यस्तै अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन् ।

सत्तारुढ दलका उम्मेदवारहरुले आफू गठबन्धनको उम्मेदवार रहेकोले जित सुनिश्चित रहेको दाबी गरेका छन् । जसपाका सिद्धकीले भने आफू एकल पार्टीको उम्मेदवार नभई गठबन्धनको उम्मेदवार रहेको कारण यस प्रदेशमा गठबन्धनको अत्यधिक मत रहेकोले आफ्नो जित निश्चित रहेको बताए । सत्तारुढ दलका अर्का उम्मेदवार माओवादी केन्द्रकी अर्यालले केन्द्रीय गठबन्धन सहमतिअनुसार आफूले उम्मेदवारी दिएकाे बताइन् ।

प्रतिपक्षी दलहरुले पनि गठबन्धनको अत्यधिक उम्मेदवार रहे पनि गठबन्धनभित्रका केही दलको उम्मेदवार नरहेको कारण तिनीहरुसँग समन्वय गरेर जित हात पार्ने दाबी गरे । प्रतिपक्षी दलका तर्फबाट लोसपाका प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले भने हुनत् हाम्रो मतभार संख्या कम छ तर पनि जुन दलसँग उम्मेदवार छैन तिनीहरुसँग समन्वय गर्ने प्रयास गर्नेछु ।

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशीकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव हुन लागेको हो । प्रदेश नम्बर २ मा स्थानीय तहबाट २ सय ६८ र प्रदेशसभाबाट १ सय ४ जना मतदाता रहेका छन् । स्थानीयतहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।

राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा कांग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत रहेको छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकोले कांग्रेससँग अब २ हजार ३७० मतभारसमेत थपिएको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x