दल

दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङगदेल

इकागज |
पुस २०, २०७८ मगलवार १८:३५ बजे

जनकपुरधाम - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङगदेलले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएका भन्दै चर्को आलोचना गरेका छन् ।

मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी लोकतन्त्रको नाममा उनीहरू लुटतन्त्र मच्चाएको उनले आरोप लगाए ।


मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङगदेलले भने, ‘गणतन्त्र आएको १५ वर्ष भइसकेको छ । युवाहरूलाई रोजगारी सिर्जना हुने एउटा पनि काम यी दलहरूले गर्न सकेन । यिनीहरूले देशलाई बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन् ।’ 

राजनीतिक दलहरूकै असक्षमताका कारण नेपालका ५५ लाख युवा वैदेशिक रोजगारका क्रममा देश बाहिर रहेको उनले बताए । उनले नेताहरूकै कारण स्वाभिमानी नेपाली बेरोजगार भएर अरवियनहरूको नोकर बन्न बाध्य भइरहेको बताएका थिए ।

विगतमा राजाले लिइरहेको सुविधा अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले लिइरहेको बताउँदै अध्यक्ष लिङगदेलले भने, ‘राजाभन्दा पनि अहिले देशको साधन श्रोत दलहरूले खर्च गरिरहेका छन् । प्रत्येक पाँच वर्षमा राष्ट्रपति फेरिँदा पूर्व राष्ट्रपतिहरूलाई पनि सुविधा दिने जानेको हो, राज संस्थाको खर्च र अहिलेको व्यवस्थाको खर्च धेरै फरक हुन्छ ।’ उनले विगतको राजसंस्थाभन्दा अहिले गणतन्त्र खर्चिलो भएको बताए ।

राप्रपाका प्रदेश २ अध्यक्ष भरत गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था तराई, पहाड र हिमाल जोडने माध्यम रहेको बताएका छन् । दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न राजसंस्था आवश्यक रहेको डा. लोहनीले बताए ।


Author

थप समाचार
x