राष्ट्रिय सभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी
काठमाडाैँ - आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदैछ । सो निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार परेको उम्मेदवार मनोनयन दर्ता अन्र्तगत ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएकाे जानकारी दिए । जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएकाे सहायक प्रवक्ता धमलाले बताए ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानबिन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगका सहायक प्रवक्ता धमलाले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया