राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा माओवादीको सबैभन्दा धेरै मतभार, अरु कसको कति ?
कर्णाली - राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कानुनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षलाई मात्र मताधिकार छ । कर्णालीमा हाल स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेश सभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुख एक बराबर १८ मतभार कायम छ । यस हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेश सभा सदस्यको कूल मतभार एक हजार ६८० रहेको छ ।
स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षको कूल मतभार दुई हजार ८०८ रहेको छ । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र)सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख-उपप्रमुख गरी ५२ र प्रदेश सभामा १२ सदस्य छन् । माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका मतदाताको मतभार ९३६ र प्रदेश सभा सदस्यको मतभार ५७६ गरी एक हजार ५१२ मत छ ।
नेकपा (एमाले) का स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ । एमालेको कूल एक हजार ४३४ मत छ । नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख–उपप्रमुखको ४० र प्रदेशसभा सदस्य ६ रहेका छन् । कांग्रेससँग प्रमुख–उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ ।
एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १३ र प्रदेशसभामा तीन सदस्य छन् । उनीहरूको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेश सभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया