दल

देउवा र ओलीबीच संसद् सञ्‍चालन, एमसीसी सम्झाैता र समयमै निर्वाचन गराउनेबारे छलफल

सन्दिप कुमार बैश्य |
पुस २४, २०७८ शनिबार १६:४० बजे

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव वीरेन्द्र थापाका अनुसार भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । उनले भने,' भेटमा संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई अनुराेध गरेको थिए।'


त्यस्तै भेटमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि कसरी बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेकाे स्वकीय सचिव थापाले बताए । यद्यपि, एमाले संसदमा एमसीसी सम्झौताकाे पक्षमा रहने वा नरहने भन्ने विषयमा ओलीले केही पनि खुलाएनन् । 

यसबाहेक समयमा तीनै तहकाे निर्वाचन सम्पन्न गर्न दुवै नेता सहमत भएका छन् । थापाले भने,'आगामी स्थानीय, प्रदेश र संघकाे निर्वाचन समयमै गराउने विषयमा समेत दुवै जनाबीच छलफल भएकाे हाे।'

त्यस्तै भेटपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले हामी दुई जनाबीच राम्रो कुराकानी भएको प्रतिक्रिया दिएका छन् । उनले भने,'कुराकानी राम्रो भयो,सहयाेग गर्नुपर्ने मुद्दामा हामी सहयाेग गर्छाै।'

संसद्‌मा गत भदौँदेखि एमालेले अवरोध गर्दै आएको छ। जसका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ। त्यसलाई सहज बनाउन एमाले नेताहरुले प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच एकल संवाद्को आवश्यकता औंल्याउँदै आएका थिए। सोहीअनुसार देउवाले आज ओलीसँग भेट गरेका हुन्।

सभामुख अग्‍नि सापकाेटाले एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदको कारवाही रोकेका कारण अवैध रूपमा नेकपा एकीकृत समाजवादी दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

एमालेसँग संवाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन । देउवासँगकाे भेटअघिसम्म ओलीले संसद अवराेध निर्वाचनसम्म जारी रहने बताउँदै आएका  थिए । 


Author

सन्दिप कुमार बैश्य

बैश्य इकागजका संवाददाता हुन् ।


थप समाचार
x