दल

एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

इकागज |
पुस २५, २०७८ आइतबार ८:१५ बजे

काभ्रेपलाञ्चोक - नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष  र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन भएका छन् । शनिबार अबेरसम्म भएको छलफलबाट उनीहरू चयन भएका हुन् । ब्याञ्जू हाल नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख हुन् । ढकाल तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र)बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार भएका थिए । 

अन्य पदाधिकारी र सदस्यको आज धुलिखेलमा निर्वाचन हुँदैछ । १०५ जिल्ला कमिटीमध्ये अब एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव र सदस्यमा मतदान हुने भएको हो ।


तनहुँमा श्रेष्ठ सर्वसम्मत

तनहुँका अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। शनिबार उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्। यसअगाडि उपाध्यक्ष रहेका श्रेष्ठ नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए। 

अध्यक्ष बाहेकका पदमा भने आवश्यक सङ्ख्याभन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ । 

आइतबार बिहान दाबीविरोध, उम्मेदवारी फिर्ताको समय रहेको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक ढकालले जानकारी दिनुभयो । म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाबाट प्रतिनिधित्व हुने सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन् । 

अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव चयन गर्नेछ । प्रत्येक नगरपालिकाबाट पाँच खुला र दुई महिला गरी २८, प्रत्येक गाउँपालिकाबाट तीन खुला र दुई महिला गरी ३०, अल्पसङ्ख्यकको तर्फबाट दुई खुला र एक महिला गरी तीन, मजदुरबाट दुई खुला र एक महिला गरी तीन, दलितबाट तीन खुला र दुई महिला गरी पाँच, आदिवासी जनजातिबाट दुई खुला र एक महिला गरी तीन, अपाङ्गबाट एक खुला र एक महिला गरी दुई सदस्य निर्वाचित गर्नेछ । खुलातर्फ १७ खुला र ९ महिला गरी २६  निर्वाचित हुनेछन् । रासस


Author

थप समाचार
x