दल

माओवादी महाधिवेशन बन्याे काेभिडकाे ‘हटस्पट’

इकागज |
पुस २५, २०७८ आइतबार ११:१८ बजे

फाइल फाेटाे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको ११ पुसमा सुरु भएको आठौँ महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई काेभिड संक्रमण पुष्टि भयो । 

गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई काेभिड संक्रमण पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल पनि आइसोलेसनमा बसे । 


कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई काेभिड संक्रमण भएपछि दाहालले बिहीबारबाट भेटघाट बन्द गरेका हुन् । 

तर, शनिबारसम्म आइपुग्दा दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई काेभिड संक्रमण पुष्टि भएको छ । अध्यक्ष दाहालसहितका संक्रमित नेताहरुको सम्पर्कमा आएकाहरू जोखिममा परेका छन् । 

देशभरबाट आएका नेता कार्यकर्ताहरू एक साताभन्दा लामो समय चलेको महाधिवेशनमा सहभागी भए । उनीहरू अहिले जिल्ला-जिल्ला र गाउँ-गाउँमा पुगिसकेका छन् । 

महाधिवेशन समाप्त भएलगत्तै नेताहरूमा काेभिड पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किसक्नुले काेभिड संक्रमणको जोखिम बढाएको छ । 

महाधिवेशनबाट फर्किएका माओवादी नेता तथा कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि कोरोना संक्रमण भएको छ । माओवादीसहित एमाले, कांग्रेस, राप्रपाका पनि राजनीतिक गतिविधि भइरहेका छन् । जनस्वास्थ्यका मापदण्ड नअपनाइ भइरहेका राजनीतिक गतिविधिले काेभिड संक्रमण बढाउने देखिन्छ । 


Author

थप समाचार
x