दल

प्रदेश २ जसपाभित्र आन्तरिक कलह सुरू

सुभाष कर्ण |
पुस २७, २०७८ मगलवार १३:१ बजे

जनकपुरधाम - पार्टी अध्यक्षले एकलौटी गर्न खोजिएको भन्दै जनता समाजवादी पार्टीको आयोजित प्रदेश २ मा आयोजित प्रदेशस्तरीय तीन दिने प्रशिक्षण कार्यक्रमलाई डा.बाबुराम भट्टराई र महेन्द्र राय समूहका नेताहरुले बहिष्कार गरेका छन् ।

महोत्तरीको बर्दिबासमा सोमवारदेखि आयोजित तीन दिने प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधान र संघीयता कार्यान्वयन विपरित एकलौटी रुपमा गर्न खोजेको भन्दै भट्टराई र राय समूहका नेताहरूले कार्यक्तम बहिष्कार गरेका हुन् । सो कार्यक्रममा प्रदेशस्तरीय पदाधिकारी तथा नेताहरुले उपस्थित छैनन् ।


जसपा प्रदेश २ का उपाध्यक्ष शुशिल यादवले भने–‘संघीयताको जननी नै जसपा हुँदा कार्यान्वयनको पक्षमा हाम्रै पार्टी अध्यक्षले अस्वीकार गरी विधानलाईसमेत कार्यान्वयन नगरी मनमानी गर्न खोजिएकोले आफूहरु सो तालिमलाई बहिष्कार गरेका हौं ।’ उनले केन्द्रीय स्तरमा पनि छलफल नगरी अध्यक्ष यादवले हैकमवादी प्रवृतिले एकलौटी निर्णय गरी तालिम आयोजना गरेकोसमेत आरोप लगाए। ‘पार्टीभित्र लोकतान्त्रिक पद्धतिको गलत अभ्यास भएकोले हामीले बहिष्कार गरी उपस्थित भएका छैनौं।’ उनले भने।

उनकाअनुसार अहिले प्रदेश समिति गठन नभई प्रदेश परिषद गठन भएको छ, सोही अनुरुप परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग कुनै छलफल नै गरिएको छैन । ‘हाम्रा नेतालाई आमन्त्रण समेत गरिएको छैन । पार्टी भित्र एकलौटी निर्णयले कुनै कार्यक्रमलाई हामी स्वीकार्दैनौ ।’ उनले भने ।

त्यस्तै केन्द्रीय सदस्य देवेन्द्र यादवले पनि संघीयताको मोडल पार्टीभित्र अस्वीकार गरी अध्यक्षीय प्रणाली एकलौटी रुपमा निर्णय गरिदै आएको कारण हामीले तालिम बहिष्कार गरेका बताए। ‘पार्टीभित्र यो गतिविधि नसच्चिएसम्म हामीहरु आन्तरिक रुपमा विरोध गर्नेछौं।’ उनले भने ।

सो तालिम कार्यक्रममा भट्टराई र राय बाहेक समूहका अन्य पदाधिकारी तथा नेताहरु मात्र सहभागी भएका छन् । प्रशिक्षकका रुपमा पनि पार्टी अध्यक्ष यादवकै समूहका रहेका छन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x