दल

खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिलाई गठबन्धनको पक्षमा समन्वय गर्ने निर्णय

इकागज |
पुस २९, २०७८ बिहीबार २०:३० बजे

खोटाङ - खोटाङमा सत्ता गठबन्धन दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको पक्षमा मतदानका लागि समन्वय गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बुधबार बसेको संयुक्त बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिले गठबन्धनको पक्षमा मतदान गर्न समन्वय गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धन दलले बिहीबार कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा कांग्रेस सभापति बिष्णुकुमार राईले गठबन्धनमा आवद्ध जनप्रतिनिधिलाई गठबन्धनकै पक्षमा मतदान गर्ने/गराउने निर्णय गरिएको जानकारी दिए ।  


जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलव्धी, संघीयता, लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं प्रतिगमनकारी हर्कत र पश्चगमनकारी कदमलाई असफल बनाउँदै देशलाई एकतावद्ध रुपमा अग्रगमनतर्फ अगाडि बढाउन भन्दै सत्ता गठबन्धन दलले राष्ट्रियसभाको निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय गरिएको जनाएको छ । जिल्लाका चार सत्ता साझेदार दलले आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत गठबन्धन कायम राख्ने गठबन्धन दलहरुको दाबी छ । 

यसअघि केन्द्रमा सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भएको थियो । जसअनुसार नेकपा एमालेले जितेका ८ राष्ट्रिय सभा सदस्यको पदमा भागवण्डा गरिएको थियो भने खालि भएका बाँकी स्थानमा जुन दलले यस अघि जितेको हो सोही दलको उम्मेदवार बनाउने निर्णय भएको थयो । 

उक्त निर्णय कार्यान्वय गर्नका लागि प्रदेशमा गठबन्धनले संयुक्त कार्यदल बनाएको छ भने जिल्ला जिल्लामा पनि संयुक्त गतिविधि सञ्चालन भइरहेका छन् । 

त्यसै क्रममा खोटाङमा सत्ता गठबन्धनमा आवद्ध दलहरुबीचको सहकार्य र एकताको संयुक्त प्रयासलाई थप बलियो बनाउन गठबन्धनलाई पालिका र वडा तहसम्म पुर्‍याउने तयारी गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । यस्तै, जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरु जारी राख्ने र गठबन्धनमा आवद्ध दलको पालिकामा संयुक्त बैठक बसी जनताको मागहरु प्रदेश र संघीय सरकारमार्फत तत्काल संवोधन गर्न पहल गर्ने निर्णय गरिएको सत्ता गठबन्धन दलले जनाएको छ ।

पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञाप्तीमा कांग्रेस सभापति राई, नेकपा माओवादी केन्द्रका अध्यग्क्ष पृथ्बी किराती, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलशेर राई र जनता समाजवादी पार्टीका अध्यक्ष टंक थापाले हस्ताक्षर गरेका छन् । 


Author

थप समाचार
x