दल

ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न कांग्रेस उपसभापति गुरुङकाे माग

अख्तियारको घर्रामा बन्द भएकाे फाइल खाेल्दा नेता-कर्मचारी पर्छन !

इकागज |
पुस ३०, २०७८ शुक्रबार १६:४२ बजे

बुटवल- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ठूला-ठूला भ्रष्टाचार काण्डको छानबिन हुन नसकेकाे भन्दै तुरुन्त छानबिन गर्न माग गरेका छन् । उनले ठूला नेता-कर्मचारी पर्छन भनेर अख्तियारको घर्रामा फाइल बन्द भएकाे भन्दै घर्रा खाेलेर छानबिन थाल्न माग गरेका हुन् । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको कांग्रेसका नवनिर्वाचित उपसभापति गुरुङको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भष्टाचारको छानबिन सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएको बताए । नेता गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस ७० करोड, वाइड बडी, ओम्नी, यति, ललिता निवास जग्गा प्रकरणलगायतका भ्रष्टाचार काण्डको छानबिन हुन नसकेकोमा आक्राेश पाेखे ।


उनले भने, ‘सानालाई मुद्दा चलाउने, ठूलालाई मुद्दा चलाउन थरथर काप्ने ? भ्रष्टाचारको विषयमा पटक-पटक केन्द्रीय समितिमा समेत कुरा उठाउँदै आएको छु  ।’

संसारमा ठूला नेता पनि जेल गएको इतिहास भएको भन्दै उनले नेपालको सन्दर्भमा छानबिन नहुनु दुःखद भएको बताए । उनले भने, 'मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि भ्रष्टाचार काण्डको छानबिन गर्न भनेको छु, प्रधानमन्त्रीजीले छानबिन हुने आश्वासन दिनुभएकाे छ ।'

अर्काे फरक प्रसंगमा गुरुङले भारतले नेपालको भूमिमाथि अतिक्रमण गर्दै आएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा, कालापानीमा भारतले सडक निर्माण गरिरहेको भन्ने अभिव्यक्ति दिएकोबारे तुरुन्तै कुटनीतिक नोट पठाउनुपर्ने उनकाे भनाई छ ।

उनले भने, ‘कुटनीतिक नोट मात्र पठाएर हुँदैन, प्रधानमन्त्रीले नै अग्रसरता लिएर कुटनीतिक वार्ता अगाडि बढाउनुपर्छ, सधैका लागि समाधान खोज्नुपर्छ, हाम्रो भूमि हामीले उपयोग गर्न पाउनुपर्छ ।' 


Author

थप समाचार
x