दल

नेपाली राजनीतिले बाटो बिरायो : धनराज गुरुङ

इकागज |
माघ १, २०७८ शनिबार १८:४६ बजे

फाइल फोटो

भैरहवा : राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन् । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।”

उहाँले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताउनुभयो । प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उनले भने, “मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जितेँ। मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जीतहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईँहरूजस्ता सङ्घसंस्थाले पनि मलाई बोलाउनुहुन्न । समाजिक सङ्घसंस्थाले पनि पदलाई महत्व दिन थाल्नुभएको छ । यहीबाट राजनीति बिग्रिन सुरु भएको हो ।”


उनले भ्रष्ट भनेर चिनिएकाहरूलाई बहिष्कार गर्न पनि आग्रह गरे । गुरुङले भने, “भ्रष्टाचारी न दलको हुन्छ, न त देशको । ऊ जुनसुकै तहमा वा पार्टीको भए पनि भ्रष्टाचारी नै हो । अख्तियारले दोषी देखाएमात्रै भ्रष्टाचारी भन्ने होइन, कुनै पनि मान्छेको हैसियत अस्वाभाविकरूपमा वृद्धि हुन्छ भने त्यसतर्फ आम नागरिकले खोजीनीति गर्नुपर्छ ।”

कार्यक्रममा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष अनिलबहादुर शाहीले जेसिजमार्फत देशैभर नेतृत्व विकास र मानवीय सेवामा खेलेको भूमिकाको चर्चा गरे । सो अवसरमा निर्वाचन आयुक्तसमेत रहनुभएका पूर्वअध्यक्ष ओमकुमार श्रेष्ठले जेसिज विधि र विधानमा हिँडेमा समस्या नहुने बताए । 

कार्यक्रममा सिद्धार्थनगर पालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायत विभिन्न सङ्घसंस्थाका प्रमुखले समेत मन्तव्य राख्दै जेसिजमार्फत भएका मानवीय कार्यको प्रशंसा गरेका थिए । 

सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहबाट गोपाल ज्ञवालीले कमल जिसीलाई नेतृत्व हस्तान्तरण गरेका छन् । कोरोनाको समयमा देशैभरका जेसिजका शाखामध्ये उत्कृष्ट काम गरेको भन्दै सिद्धार्थ जेसिजले सम्मानसमेत प्राप्त गरेको थियो । रासस 


Author

थप समाचार
x