दल

स्थानीय तहको निर्वाचन वैशाखमै हुने

इकागज |
माघ ४, २०७८ मंगलबार १२:७ बजे

फाइल फाेटाे

काठमाडौँ - सरकारले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने बताएको छ । सत्तारुढ राजनीतिक समन्वय समितिको आज बसेको बैठकले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । 

बालुवाटारमा बसेको समितिको बैठकमा दलहरूबीच संविधानले तोकेको समयमै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । तर, बैठकले  निर्वाचनकाे मिति भने ताेकेकाे छैन् । माघ ६ गते बस्ने समितिकाे अर्काे बैठकले मिति तय गर्ने कार्कीले बताए ।


निर्वाचन आयोगले २०७९ जेठ ७ मा स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद सकिने हुनाले वैशाखमै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । संविधानले स्थानीय तहमा जनप्रतिनिधिविहीनकाे परिकल्पनै नगरेकाले आयाेगले वैशाखमै निर्वाचन गर्न सु‌‌‌‌‌‌‌‌‌‌झाव दिएकाे हाे । निर्वाचनका विषयमा सरकारले आयाेगसँग पनि निरन्तर छलफल गरिरहेकाे उनले बताए । 

यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ जेठ २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो । 

साथै, बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने विषयमा पनि छलफल गरेको कार्कीले जानकारी दिए । संसद सुचारुका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग लामाे छलफल गरेकाेले छिट्टै संसद सुचारू हुने कार्कीले बताए । 'संसद सुचारू गर्ने जिम्मेवारी प्रतिपक्षी दलकाे पनि हाे', उनले भने, 'यस विषयमा पनि  निरन्तर छलफल भइरहेकाे छ ।'

 

 


Author

थप समाचार
x