दल

जनपरिचालनको जिम्मा अध्यक्ष दाहाललाई दिने माओवादीको निर्णय

इकागज |
माघ ८, २०७८ शनिबार १२:३८ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्रको जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले हाल पार्टीभित्र कुनै पनि कमिटी नरहेकाले जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष दाहाललाइ दिने निर्णय गरेको हो । कोरोना महामारीका कारण पार्टीको केन्द्रीय समिति बैठक केही दिनपछि मात्रै बोलाउने र तत्कालका लागि जनपरिचालनका कामका लागि निर्देशन दिने जिम्मा दाहाललाई दिने निर्णय भएको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए।

त्यस्तै बैठकले एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न गठबन्धनले बनाएको कार्यदलको सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको उनले जानकारी दिए । त्यस्तै सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्ने विषयमा पनि छलफल र परामर्श भएको नेता महराले जानकारी दिए । निर्वाचन आयोग, बुद्धिजीविहरू, पत्रकारहरू, त्यसपछि कानुनविदसँग सल्लाह लिएर मात्रै चूनावका बारेमा आवश्यक निर्णयमा पुगिने उनले बताए ।


सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका विषयमा सहमति हुन सकेको छैन । यसअघि शुक्रबार बसेको सत्ता गठबन्धन अन्तर्गतको संयन्त्रले तीनै तहको निर्वाचन एकैपटक गर्ने बिषयमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । 


Author

थप समाचार
x