दल

तोकेरै रकम असुल्दै

कैलालीमा 'चन्द नेकपा'को चन्दा आतंक, नदिए भौतिक कारबाही गर्ने धम्की

दीपक उपाध्याय |
माघ ११, २०७८ मंगलबार १२:३७ बजे

कैलाली – कैलालीस्थगित सामुदायिक वनसँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले व्यापकरूपमा चन्दा असुली गरिरहेका छन् । सामुदायिक वनमा आफूले तोकेको रकम चन्दा नदिए भौतिक कारबाहीसमेत गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर चन्दा दिन थालेका छन् ।

कैलालीको भजनी, घोडाघोडी, पण्डौनमा रहेका सामुदायिक वन समितिसँग चन्दका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूले ठूलो रकममा चन्दा माग गर्न थालेका हुन् । पार्टीका कार्यकर्ताहरूले लेटरप्याडमा आर्थिक सहयोग गरिदिन भन्दै पत्र दिन थालेको एक सामुदायिक वनका अध्यक्षले बताए । थोरै सहयोग रकम दिन खोज्दा तोकेरै दुई लाखमाथि दिन भनेर दबाब दिने गरेको उनले बताए । उनले तोकेका चन्दा रकम नदिएमा कारबाही गरिने भनेपछि बाध्य भएर रकम दिएको स्वीकार गरे । 


चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भजनी नगरपालिकास्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहबाट ३ लाख, सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट दुई लाख, सयपत्री सामुदायिक वन उपभोक्ता समूह भजनी–९, डोङपुरबाट २ लाख ५० हजार, जनज्योति र सोनिया सामुदायिक वन उपभोक्ता समूह भजनी–९, डोङपुरबाट १ लाख २० हजार, घोडताल सामुदायिक उपभोक्ता समूह भजनी–९ पचमुडियाबाट ५० हजार रुपैयाँ चन्दा भन्दै रकम असुलेका छन् ।

यस्तै साडेपानी सव डिभिजनअन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहलाई समेत २० हजार रुपैयाँ भन्दामाथि रकम चन्दा तोकेरै असुल्न थालेका एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षले बताए ।

सुदूरपश्चिम प्रदेश अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति तथा प्रदेश सभा सदस्य हर्क कुँवरसहितको टोलीले सामुदायिक वनमा भएको अनियमितताबारे अनुगमनमा गएका बेला महिनौदेखि चन्दा आतंक सहेर बसेका सो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले चन्दको चन्दाबाट आफूहरू आजित बनेको बताएका थिए । उनीहरूले चन्द नेतृत्वको पार्टीले आफूहरूलाई महिनौदेखि तोकिएको चन्दा नदिए धम्की दिने गरेका कारण यहाँका अधिकांश सामुदायिक वनले चन्दा दिएको बताएका थिए।

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कैलाली सचिवालय सदस्य बरदानले अन्य पार्टीले जस्ते आफूहरूले पनि पार्टी चलाउन सानोतिनो रकम सहयोग माग गरिएको बताए । उनले यसलाई चन्दा भन्दा पनि सहयोग रकम भनेर बुझिदिनआग्रह गरे । उनले पार्टीले ठूलो रकम चन्दा माग कहीँ कतैबाट नगरेको बताउँदै यदि त्यसो भएको भए पार्टीले छानविन समेत गर्ने बताए । 

‘सामुदायिक वनका पदाधिकारीहरूले समेत वैज्ञानिक वनका नाउँमा भ्रष्टाचार गरेको हुन सक्छ, नत्र लाखौलाख रकम माग्ने वित्तिकै कसरी दिन सकेका’ उनले उल्टै प्रश्न गर्दै भने –‘यदि साच्चिकै हाम्रो पार्टीका कार्यकर्ताबाट धम्कीसहित चन्दा असुली भैराखेको भए त्यसको खोजीनीति गरिन्छ ।’ 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x