राष्ट्रिय सभा निर्वाचन : प्रदेश सांसद नै कानुनविपरीत प्रचारप्रसारमा
विराटनगर - निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको ४८ घण्टा अगाडि मौन अवधि घोषणा गरेर प्रचार प्रसारमा प्रतिबन्ध लगाए पनि प्रदेश सांसदहरूले कानुन उल्लंघन गरेर प्रचार प्रसार गरिरहेका छन् । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २५ को उपदफा (५) मा मतदान हुने दिनभन्दा अठ्चालिस घण्टा अघिदेखि मतगणना पुरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले कुनै पनि प्रचारले प्रचार गर्न गराउन नहुने उल्लेख छ ।
तर राष्ट्रियसभा निर्वाचनको मौन अवधि चलिरहेकै बेलामा प्रदेश १ मा प्रदेश सांसदहरू कुलप्रसाद साम्बा र उमिता विश्वकर्माले सामाजिक संजाल फेसबुकमा उम्मेदवारहरूको फोटोसहित प्रचार सामग्री राखेका छन् । राष्ट्रिय सभा निर्वाचन अन्तरगत मतदानको ४८ घण्टाअघि आइतबार रातीदेखि नै आयोगले मौन अवधि तोकेको छ ।
उनीहरूले मौन अवधि सुरु भएपछि सोमबार नै प्रचार सामग्री फेसबुकमा राखेका छन् । मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमका सामाजिक संजालहरूबाट समेत मत माग्न र उम्मेदवारहरूको प्रचार गर्न बन्देज गरिएको आयोगले जनाएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐनले सर्वसाधारणलाई समेत प्रचार प्रसारमा प्रतिबन्ध लगाएको बेला प्रदेश सांसदहरू नै उम्मेदवारहरूको प्रचार प्रसारमा लागेका हुन् ।
कानुनविपरीत प्रचार प्रसार भएको उजुरी परेको खण्डमा तोकिएका अनुगमन अधिकृतले प्रचार प्रसारमा संलग्न रहेका व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ ।
प्रदेश १ मा रिक्त हुन लागेका तीन सदस्य पदमा बुधबार निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमाले एक्लै लड्दैछ । एमालेसँग सहकार्य हुने भनिए पनि राप्रपाले समेत आफ्नो दलको तर्फबाट अलग्गै उम्मेदवारी दिइसकेको छ ।
सत्ताधारी पाँच दलीय गठबन्धनले संयुक्त रुपमा उम्मेदवार अघि सारेका छन् । नेकपा एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरू नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि सकिनु अघि निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा प्रदेशसभाका सांसद र स्थानीय तहका मेयर/प्रमुख र उपमेयर/उपप्रमुखले मतदान गर्नेछन् । प्रदेश १ मा प्रदेशसभाका सांसदको संख्या ९२ रहेको छ । प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहका मेयर/प्रमुख तथा उपमेयर/उपप्रमुखको मतभार १८ रहने छ । प्रदेश १ मा कुल सांसदहरूको मतभार ४ हजार ४१६ रहने छ । त्यसैगरी स्थानीय तहका मेयर÷प्रमुख तथा उपमेयर/उपप्रमुखको संख्या २७२ रहेको छ ।
उनीहरूको कुल मतभार ४ हजार ८९६ रहने जनाइएको छ । मतदानका लागि दुर्गम र टाढाका मतदाताहरू मंगलबार बेलुका नै विराटनगर आइपुग्दैछन् । बढ्दो कोभिड १९ को महामारीका कारण निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थलमा सवैले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम बनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया