चुनावसँग हामी आत्तिएका छैनौँ, जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौँ : नेपाल
फाइल तस्बिर
काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भए पनि निर्वाचनको सामना गर्न आफूहरू तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला एवं संगठन पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनको मितिका बारेमा गठबन्धनबीच छलफल चलिरहेको भन्दै जुनसुकै मितिमा भए पनि निर्वाचनको सामना गर्न तयार रहेको बताएका हुन् । यसअघि स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई टेकेर आगामी निर्वाचनको मिति तय गर्ने भन्ने बिषयमा छलफल चलिरहेको उनको भनाइ छ ।
‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौँ,' उनले भने, 'यदि चुनाव जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ। असारमा गर्ने हो भने सामना गर्न तयार छौँ । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौँ।'
नेपालले निर्वाचनसम्बन्धी जटिलतालाई हटाएर संविधानअनुसार निर्वाचन गर्न गठबन्धन दल तयार रहेको धारणा राखे । उनले विभिन्न तत्वले गठबन्धनलाई भत्काउने प्रयास गरे पनि निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम हुने दाबी गरे। शनिबार बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गठबन्धन निर्वाचनसम्म नै अघि बढाउनुपर्छ भन्ने धारणा राखेको उनले बताए ।
कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुँदै गएको बताए । राष्ट्रियसभा चुनावमागठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जित हासिल गरेको भन्दै उहाले आगामी दिनमा कलम चिन्ह बलियो हुने र सूर्य चिन्ह कमजोर हुदै जाने दाबी गरे । त्यस्तै अध्यक्ष नेपालले पार्टीसंगै पार्टी अन्तर्गतको संगठनलाई पनि बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया