दल

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

इकागज |
फागुन २, २०७८ सोमबार ९:१० बजे

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नजाने भएको छ । एमाले नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने जानकारी दिए । उनका अनुसार  आज बस्‍ने एमाले संसदीय दलको बैठकले यसबारे निर्णय गर्नेछ ।

'सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले जाँदैन,' उनले भने,' सभामुखप्रति हाम्रो असहमति छँदैछ । सभामुखलाई नै महाअभियोग लाउनुपर्छ भन्‍नेमा हामी छौँ । दोस्रो कुरा जुन हिसाबले महाअभियोग आयो त्‍यमा पनि हाम्रो असहमति छ ।' प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।


एमालेले अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । आजको संसदीय दलको बैठकमा उक्‍त विषयमा छलफल हुने एमालेका एक नेताले बताए । उनका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने विषयमा समेत बैठकमा छलफल हुनेछ । 


Author

थप समाचार
x